पशुपति मन्दिर परिसरमा झाडु लगाउँदै पारस शाह

काठमाण्डौ । पुर्वयुबराज पारस शाह शनिबार भिन्न रूपमा देखिए।
सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा  सहभागी भएका हुन्।
सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकार गरेर पूर्वयुवराज पारस शाह पशुपतिनाथ मन्दिर पुगेका थिए।
सुरूमा खनालले नै पारसलाई स्वागत गरे। फुलमाला लगाइदिए। त्यसपछि उनले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रमसम्म ल्याउन पाएको बताए ।

‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि  पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’
उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनुपर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने।
खनालले बोलुञ्जेल पूर्वयुवराज शाह सुनिरहेका थिए। उनलाई पनि केही शब्द राख्न अनुरोध गरे पनि शाह बोलेनन्।
लगत्तै खनालले झाडु र पन्जा ल्याए। पन्जा लगाउन शाहलाई अनुरोध गरे पनि उनले मानेनन्। ‘पर्दैन, पर्दैन,’ शाहले भने। त्यसपछि उनले झाडु लिएर सरसफाइ सुरू गरेका थिए। उपस्थित सहभागीले ताली पिटेर स्वागत गरे। शाहले ल स्टार्ट, स्टार्ट भन्दै सरसफाइ सुरूवात गरेका थिए।


राति राति राजधानीका चोकमा फोहर उठाउन आउने ‘साना केपी’
साउन पहिलो साताको एक रात। केपी खनाल चाबहिलबाट ९ बजेतिर सामाखुसी चोक आइपुगे।
सामाखुसी चोकमा एक एम्बुलेन्सका चालक सडकमा फोहर फालिरहेका थिए। केपीले ती चालकलाई तुरून्तै फोहर टिप्न भने। चालक मानेनन्। केपी ती चालकको भिडियो खिच्न थाले।
भिडियो खिचेको थाहा पाएपछि चालकले एम्बुलेन्स दौडाए। केपीले एम्बुलेन्स पछ्याए।
एम्बुलेन्स ग्रान्डी अस्पतालको रैछ।
केपीकै कारण ग्रान्डी अस्पतालबाट फर्किएर एम्बुलेन्स सामाखुसी आयो, केहीबेर अघि फालेको फोहोर टिपेर फर्कियो।
यो एउटा प्रतिनिधि घटना हो। १९ वर्षीय अभियन्ता केपीको अधिकांश समय यसरी जथाभावी फोहोर फाल्नेलाई सम्झाउन र सफाइ गर्नमै बित्छ।
‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ उनले क्लिन काठमाडौं अभियान चलाएका छन्।
‘रातको समयमा फोहरको थुप्रो सडकमा फाल्ने चलन छ। हामीले यो कामलाई रोक्ने प्रयास गरेका छौं,’ उनले भने,‘यो काम चुनौतीपूर्ण छ। रातमा आफ्नै ज्यानको डर हुन्छ दिउँसोमा मान्छेलाई बुझाउन नसक्ने डर हुन्छ।’

राति फोहर फाल्नेहरूलाई सम्झाउन जाँदा केपीमाथि धम्की पनि आउँछ। केपी टिमले केही समयअघि कोटेश्वरमा कुटाइसमेत खायो।
बागबजार,कलंकी,चावेल,गौशाला लगायतका ठाउँमा उनीहरुलाई धम्क्याउने र थर्काउने काम भयो।
आफूहरूलाई आएको धम्कीबारे सरकारी निकायले कुनै चासो नदिएको केपीको गुनासो छ।
‘संसदमा एसी भएन भन्ने कुरा उठ्यो तर काठमाडौंको फोहरबारे कोही सांसद बोलेनन्। नेताहरूले काठमाडौं  एकदम सफा र  हिँड्दा मास्क लगाउनु नपर्ने देख्नुभएको छ कि,’ उनले भने,‘यो सानो केपीको टिमले त काठमाडौंमा फोहर टिप्छ, मास्क लगाएर। तर सरकार सम्हाल्नुभएका सम्माननीय केपी ओलीको टिमले  नदेख्नुभएको हो कि!’
केपीको सफाइ अभियान संगठित संस्था होइन अनौपचारिक फोरममात्रै हो। अहिले १२-१५ जना यो अभियानमा छन्।
उनीहरू कहिले सडकमा झाडु लगाउँछन्, कहिले रातबिरात फोहर फाल्ने ठाउँमा पुगेर सचेत गराउँछन्।