पूर्वमाओवादीमा स्वीकार्य बन्दै दौरा सुरुवाल, अब प्रचण्ड मात्र बाँकी !

२८ फागुन, काठमाडौं । सभामुखमा निर्वाचित भएपछि नेकपा सांसद अग्नि सापकोटाले जीवनमा दोस्रोपटक दौरा-सुरुवाल लगाए । पहिलोपटक उनले ४३ वर्ष अगाडि बेहुलो हुँदा लगाएका थिए ।

‘दौरा-सुरुवाल’ लाई सामन्ती र भारदारी पोशाक मान्ने माओवादी पार्टीको घोषित-अघोषित नीति थियो । त्यसैले बिहेमा लगाएर थन्क्याएको पोशाक फेरि झिकेर उनले लगाएनन् । दुईपटक मन्त्री हुँदा उनले कालो भादगाउँले टोपीसम्म लगाए ।

सभामुख बनेपछि चाहिँ सापकोटाका लागि यो पहिरन कसरी स्वीकार्य भयो त ? सापकोटाका छोरा दीपक सापकोटा ‘पदीय मर्यादाका हिसाबले दौरा-सुरुवाललाई ड्रेस कोडका रुपमा बुवाले स्वीकार्नुभएको’ बताउँछन् ।

‘राष्ट्रिय पोशाक मानेरभन्दा पनि सम्माननीय पदको गरिमालाई ध्यानमा राखेर औपचारिक पोशाकका रुपमा दौरा सुरुवाल लगाउने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘पहिरन भन्ने कुरा व्यक्तिको रुप पक्ष मात्र भएकाले यसलाई उहाँले प्रधान विषयका रुपमा लिनुभएन ।’

पूर्वमाओवादीबाटै निर्वाचित अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि दौरासुरुवाल नै लगाउने गरेकाले पनि सापकोटालाई निर्णय लिन सजिलो भयो । यद्यपि, उनले आफ्ना निकटस्थहरुसँग सल्लाह भने लिएका थिए । अरुले पनि दौरा-सुरुवाल नै लगाउँदा ठीक हुने सल्लाह दिएको दिपकले बताए ।

‘हामीले उहाँलाई पहिलोपटक दौरा-सुरुवालमा देखेका हौं । निकै सुहाएको जस्तो लागेको छ,’ उनले भने ।

मन्त्री हुँदा पनि दौरा-सुरुवाल लगाउन सापकोटालाई सल्लाह आउँथे, तर उनले त्यति रुची दिएका थिएनन् । उनी औपचारिक कार्यक्रमहरुमा तथा विदेश भ्रमणमा जाँदा कोट-पाइन्ट र कालो टोपी लगाउने गर्थे ।

उपराष्ट्रपतिले खोलेको बाटो

दोस्रो संविधानसभा चुनावपछि उपराष्ट्रपतिमा निर्वाचित भए माओवादीका पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ । क्रान्तिकारी नेताका रुपमा चिनिएका उनलाई त्यसबेला सपथग्रहणमा के पोशाक लगाउलान् भन्ने जनमानसमा निकै कौतुहल थियो । अघिल्ला उपराष्ट्रपति परमानन्द झाले धोती-कुर्ता लगाएर हिन्दीमा सपथ खाँदा उत्पन्न भएको विवादले गर्दा पनि पुनले लगाउने पोशाकलाई चासोका साथ हेरिएको थियो । पुनले अन्ततः दौरासुरुवाल नै रोजे ।

‘सपथ ग्रहणमा दौरा सुरुवाल लगाउने उहाँको व्यक्तिगत निर्णय थियो, अन्तिममा मात्रै अरुलाई थाहा दिनुभएको हो,’ पुनका प्रेस संयोजक मनोज घर्तिमगर सम्झिन्छन् ।

घर्तिमगरका अनुसार उनी उपराष्ट्रपति भएपछि दौरा-सुरुवाल लगाउनका लागि धेरैले सुझाव दिएका थिए । तर, पुनले प्रतिक्रिया जनाएका थिएनन् । निकटस्थहरुसँग सल्लाह लिए पनि उनले आफ्नो निर्णय अन्तिमसम्म लुकाएका थिए । ‘तर, कसैसँग मुख नखोले पनि उहाँले पहिल्यै दौरा-सुरुवालको जोरजाम गरिसक्नुभएको रहेछ,’ घर्तिमगरले भने ।

दौरा-सुरुवाल लगाएर सपथ खाएपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको घर्तिमगर बताउँछन् ।

‘पार्टीभित्रबाट पनि कसैले आलोचना गरेन, सकारात्मक प्रतिक्रियाहरुबाट उहाँ खुशी हुनुभयो र औपचारिक कार्यक्रममा यही पोशाकलाई निरन्तरता दिनुभयो,’ उनले भने ।

अहिले पुन महत्वपूर्ण भेटघाट तथा समारोहमा दौरासुरुवालमा सजिने गर्छन् । विदेश भ्रमणमा जाँदा वा विदेशमा हुने कार्यक्रममा पनि दौरा सुरुवाल नै लगाउँछन् । तर, कहिलेकाहीँ देशभित्र हुने हल्काफूल्का खालका कार्यक्रम वा विदेशमा घुमघाम गर्दा टाई-सुट लगाउने गर्छन् ।

टोपबहादुरदेखि रामबहादुरसम्म

खुल्ला राजनीतिमा आएपछि पहिलोपटक सार्वजनिकरुपमा दौरा-सुरुवालमा देखिएका माओवादी नेता हुन् टोपबहादुर रायमाझी । २०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बन्दा उनले एकाधचोटि दौरा-सुरुवाल लगाएका थिए । यद्यपि, सपथ ग्रहणमा भने लगाएका होइनन् ।

एकता केन्द्रबाट माओवादीमा मिसिएका नारायणकाजी श्रेष्ठले पनि परराष्ट्रमन्त्री बन्दा फाट्टफुट्ट दौरासुरुवाल लगाए । मन्त्री नरहँदा पनि उनले बेलाबखत दौरासुरुवाल लगाउने गरेका छन् ।

मन्त्री बन्दा दौरासुरुवालमा सपथ खाने पहिलो माओवादी नेताचाहिँ सुरेन्द्रकुमार कार्की (राम कार्की) हुन् । २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका उनले सपथ ग्रहणमा दौरासुरुवाल लगाउँदा निकै चर्चा भएको थियो ।

यस्तै हालका वनमन्त्री तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि दौरा-सुरुवाललाई स्वीकारेका छन् । अहिले मन्त्री रहेका अन्य पूर्वमाओवादी नेताहरु भने कोट पाइन्टमै देखिन्छन् ।

तत्कालिन माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले कोट पाइन्ट लगाएरै कार्यकाल गुजारे । उनकै सरकारले ०६८ सालमा दौरा-सुरुवाल र गुन्यूचोली ‘समयसापेक्ष नभएको’ भन्दै यसलाई राष्ट्रिय पोशाकबाट हटाएको थियो । नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाकको मान्यता उक्त सरकारले दिएको थियो ।

तर, ६५ वर्षको उमेरमा डा. भट्टराईको आङमा पर्‍यो दौरा सुरुवाल । गत वर्षको फागुनमा मध्यपहाडी लोकमार्ग अन्तर्गतका क्षेत्रहरुको भ्रमणमा गएका थिए उनी । त्यस क्रममा विभिन्न क्षेत्रमा पुग्दा त्यहाँको स्थानीयता हेरेर पोशाक परिवर्चन गरेका उनले कर्णाली प्रदेशमा दौरा-सुरुवाल लगाएका हुन् । भ्रमणमा निस्किनुपूर्व नै कहाँ जाँदा के पोशाक लगाउने भन्ने योजना बनेको थियो । पहिलोपटक दौरा-सुरुवाल लगाएको फोटो सामाजिक सञ्जालमा राख्दै डा. भट्टराईले लेखेका थिए, ‘देश अनुसारको भेष ।’

बाबुराम पत्नी हिसिला यमी भन्छिन्, ‘मैले र पार्टीका साथीहरुले त्यसबेला उहाँलाई दौरासुरुवाल लगाउन सल्लाह दिएका थियौं । मैले नै असनमा गएर २ हजार रुपैयाँमा दौरा सुरुवाल किनेर ल्याइदिएकी हुँ ।’

प्रधानमन्त्री बन्दा पनि नलगाएको पोशाक अहिले किन लगाउन सल्लाह दिनुभयो ? भन्ने प्रश्नमा त्यसबेला हिसिलाले अनलाइनखबरसँग यस्तो जवाफ दिइन्, ‘उहाँ मन्त्री, प्रधानमन्त्री बन्दा नेपालको नयाँ संविधान आएको थिएन । देशमा जातीय-सांस्कृतिक विविधतालाई अन्तरिम संविधानमा सम्वोधन हुन सकेको थिएन । अपूरो नै भए पनि अहिले गणतान्त्रिक र संघीयतामा आधारित संविधान छ । यो संविधानले देशलाई ७ प्रदेशमा छुट्याएको छ । त्यसमध्ये ६ र ७ प्रदेशमा खस-खस आर्यको बाहुल्य देखिन्छ ।