सिन्धुलीको माटोले नेपालीको गौरवगाथा बोल्छ : प्रधानसेनापति

सिन्धुलीमाढी । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको शुक्रबार सिन्धुलीमाढीमा उद्घाटन गर्नुभएको छ । जिल्ला व्याडमिन्टन संघ सिन्धुलीद्वारा आयोजित प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।


प्रधानसेनापति थापाले इतिहासको विभिन्न कालखण्डहरुमा सिन्धुलीवासीको साथसहयोगमा वीरताको इतिहास रचेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “सिन्धुलीको माटोले जहिले देशकै गौरवगाथा बोलिरहन्छ, नेपाली सेनाले सिन्धुलीवासीको संयुक्त प्रयासमा रचेको विरासतलाई वर्तमानसम्म कायम राख्न नागरिक स्तरवाट देखाइएको तत्परता अत्यन्त सह्रानीय छ ।”

उहाँले एकीकरण पदमार्गलगायत ऐतिहासिक सम्पदा सिन्धुलीगढी, हरिहरपुरगढीको संरक्षण, प्रवद्र्धन र संवद्र्धनमा स्थानीय निकायसंग हातेमालो गर्दै नेपाली सेनाले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा कमलमाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले नेपाल भ्रमण वर्षको सन्दर्भमा सिन्धुलीलाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि कनपाको तर्फबाट दुई लाख रुपियाँ सहयोग गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा देशभरका दुई सय भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ ।