सिन्धुलीगढी ब्याडमिन्टनको उपाधी सुरज र अमिताको जोडीलाई

सिन्धुली । प्रथम सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका सुरज महर्जन र अमिता गिरीको जोडीले जितेको छ । आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकै प्रविन लिङथेप र अनुमाया राईको जोडीलाई पराजित गर्दै महर्जन, गिरीको जोडीले उपाधि जितेको हो ।मिक्स डबलको तेस्रो स्थान एपिएफका विशाल प्रधान र शोभा गौचन, बुढासुब्बा ब्याडमिन्टन क्लबका सुरज श्रेष्ठ र सिमा राजवंशीले कब्जागरे।


मेन्स सिंगल तर्फको उपाधि एपिएफका दिपेश धामीले जिते। नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई हराउदै धामीले उपाधि जितेका हुन्। मेन्स सिंगलतर्फको तेस्रो स्थान त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ र बुढासुब्बा ब्याडमिन्टन क्लबका प्रियान्सुसिंह क्षेत्रीले जितेका छन्।
मेन्स डबलमा त्रिभुवन आर्मी क्लवका सुरज महर्जन, प्रविन लिङथेपको जोडी प्रथम, बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, प्रनिससिंह ठकुरीको जोडी द्धितिय र तेस्रो स्थान एपिएफका विशाल प्रधान र निराजन देवकोटा तथा पोखरा ब्याडमिन्टन क्लबका विधान अधिकारी र विशाल बस्नेतले हात पारेका छन्।
भ्रमण वर्ष २०२० को अवसरमा र सैनिक दिवसलाई लक्षित गरी तीनदिन अघिदेखि सुरु भएको प्रथम सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।


विजयी खेलाडीलाई वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईंपुरस्कार तथा प्रमाणपत्र वितरण गरे। जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा भएको प्रतियोगितामा १६० खेलाडीहरुले सहभागिता जनाएका थिए।