भारतले भन्योः हामी केपी ओलीको पक्षमा छौं, नेपालमा चुनाव हुनुपर्छ

काठमाडौं, माघ ३ : भारतले आफू नेपालमा निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको छ ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको भेटमा भारतीय उच्च अधिकारीले नेपालमा मध्यावधि निर्वाचनको पक्षमा रहेको बताएका हुन् ।

स्रोतका अनुसार ज्ञवालीसँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदमको पक्षमा रहेको उल्लेख गरे ।

तर, भ्रमणका क्रममा सीमा विवाद समाधानबारे भने कुनै छलफल भएन । त्यस क्रममा संसदले नयाँ नक्सा जारी गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे छलफलको एजेण्डा नै राखिएको थिएन ।

निर्वाचन घोषणापछि कामचलाउमा परिणत भएको सरकारका प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वासपात्र परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत पठाएका थिए ।

एक दर्जन बढी संख्यामा जम्बो टोली लिएर भारत गएका ज्ञवाली भ्रमण सकाएर आज स्वदेश फर्कंदैछन् ।

प्रकाशित मिति January 16, 2021