सुनकोशी नदीका २ ठुला जलविद्युत आयोजना : स्थानीयमा डुबानको त्रास, विकासको आश

कात्तिक १६ , काठमाडौं । सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र काभ्रेको सीमा भएर बग्ने सुनकोशी नदीमा सरकारले २ वटा ठूला जलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन थालेको छ । नदी तटीय क्षेत्रका स्थानीयवासी भने आयोजनाका कारण डुबानको त्राशमा परेका छन् ।

विद्युत विकास विभागले दुई हप्ताअघि सुनकोशी-२ र सुनकोशी-३ जलाशययुक्त आयोजानाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न प्रभावित क्षेत्र निर्धारण गरेर सूचना प्रकाशित गरेको थियो । यी आयोजनामा सिद्री र ईआरएमसीको ज्वाइन्ट भेन्चर कम्पनीले अध्ययनको काम गरिररहेका छन् ।

विभागले सूचना निकालेपछि रामेछापको सदरमुकाम मन्थली बजारसहित नदी तटीय भेगका विभिन्न ग्रामीण क्षेत्रमा त्रास फैलिएको हो । यद्यपि, सरकारले ‘आकर्षक’ मुआब्जा दिने आशा पनि उनीहरुलाई छ ।

तटीय क्षेत्रका कतिपय भागमा बाक्लो बस्ती र बजार बसेका छन् । आयोजनाले गर्दा आफ्नो थातथलो छाडेर हिँड्नुपर्ने अनुमान गर्दै कतिपय निराश छन् भने आयोजना बने स्थानीय क्षेत्रमा विकासको लहर आउने भन्दै कतिपय उत्साहित पनि छन् ।

ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल यी आयोजनाको सम्भाब्यता र वातावरणीय प्रभाव अध्ययन भइरहेकाले अहिले नै त्रसित हुनुनपर्ने बताउँछन् । आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, पूनर्वाससहितको निर्माण लागत र आयोजनाबाट प्राप्त हुने समग्र लाभ विश्लेषण गरेर मात्रै आयोजना बनाउने वा नबनाउने निर्क्योल हुने उनले बताए । बनाउन सकिने अवस्था देखिएमा निर्माणको मोडल पनि अध्ययन प्रतिवेदनमै समेटिनेछ ।

‘यो सूचना आयोजना बनाउन निकालिएको होइन, अध्ययन भइरहेको जानकारी दिनलाई हो,’ भेटवालले भने, ‘ती प्रस्तावित आयोजना बनेमा कसरी बन्छन् र कुन कुन क्षेत्र प्रभावित हुन्छन् भन्ने जानकारी दिन र त्यसबारे स्थानीय बासिन्दाको राय सुझाव माग्न यस्तो सूचना निकालिन्छ । त्यसैले अहिले नै आयोजना बनिहाल्ने भयो भन्ने स्थिति छैन ।’

भेटवालले वातावरणीय प्रभावको अध्ययनसहित सम्भाब्यता अध्ययनको प्रतिवेदनका आधारमा यी आयोजनाबारे थप निर्णय लिने बताए । भविष्यमा लाभभन्दा बढी हानी हुने देखिएमा आयोजना नबन्न पनि सक्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

सन् १९८५ मा जापानी सहयोग नियोग (जाइका)ले कोशी बेसिनका आयोजनाहरुबारे अध्ययन गर्दा यी दुई आयोजना पहिचान गरेको थियो । त्यसअनुसार जाइकाले नै सन् २०१४ मा यी दुई आयोजना कसरी निर्माण गर्न सकिन्छ र कति विजुली निकाल्न सकिन्छ भन्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो । त्यतिबेला देशभरका जालाशयुक्त आयोजनाहरुको अध्ययन भएको थियो ।

त्यसकै आधारमा सरकारले अहिले यसको विस्तृत सम्भाब्यता अध्ययन गरिररहेको हो । अध्ययन सकिएपछि आर्थिक पक्षको लेखाजोखाका आधारमा यी आयोजना बनाउनेबारे सरकारले छलफल अघि बढाउनेछ ।

विद्युत विकास विभागले यसअघि नै सुनकोशी-४ आयोजनाको अध्ययन सकाइसकेको छ ।

यी हुन् प्रभावित क्षेत्र

प्रस्तावित सुनकोशी-२ एघार सय मेगावाट क्षमताको आयोजना हो । सुनकोशी नदीमा रामेछाप नगरपालिका ५ र सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ च्याकुटारमा यो आयोजनको बाँध बनाउन प्रस्ताव गरिएको छ । यो बाँध ३९० मिटर लामो र १६१ मिटर अग्लो हुनेछ ।

यसरी बाँध बनाएर जम्मा गरिएको पानीलाई १०५० घनमिटर प्रतिसेकेन्डका दरले १.२ किलोमिटरको सुरुङबाट सिन्धुलीको च्याकुटार नजिकै निर्माण गरिने विद्युतगृहमा खसालिनेछ । विजुली निकालेपछिको पानीलाई टलरेस सुरुङबाट पुनः सुनकेशीमै खसाल्ने गरी आयोजना बन्नेछ ।

यो आयोजनाले काभ्रेको तेमाल गाउँपालिकाको ९ नम्बर वडासहित रामेछापको खँडादेवी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको केही भाग डुबाउनेछ । त्यसैगरी मन्थली नगरपालिकाको १, २, ६, ७, ८ र ११ नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछ । त्यस्तै लिखु गाउँपालिकाको ७ नम्बर वडासहित रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ नम्बर वडा बाँध सहितको डुबान क्षेत्रका रुपमा प्रभावित हुनेछ ।

यति मात्रै होइन, सिन्धुलीको गोलन्जर गाउँपालिकाको १, २, ३, ६, र ७ नम्बर वडा पनि बाँध, विद्युतगृह र डुबान प्रभावित क्षेत्र कायम गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ७ तथा फिक्कल गाउँपालिकाको २ नम्बर वडा पनि डुबान क्षेत्र निर्धारण भएको छ ।

प्रस्तावित सुनकोशी ३ सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र काभ्रेलाई प्रभावित गर्ने आयोजना हो । यो आयोजना ५३६ मेगावाट क्षमताको हुनेछ । रामेछापको खँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सिमाना लुभुघाटमा यो आयोजनाको बाँध बन्नेछ ।

बाँध ४४८ मिटर लामो हुनेछ भने १६६ मिटर अग्लो । यो बाँध बाँधेपछि ५७० घनमिटर प्रतिसेकेन्डको पानीलाई १.१ किलोमिटर लामो सुरुङबाट लुघुघाट नजिकै विद्युत गृहमा खसालिनेछ । यसको पानी पनि टेलरेस सुरुङबाट पुनः सुनकोशीमै खसालिनेछ ।

यो आयोजनाबाट सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको १, ३, र ४ नम्बर वडासहित बलेफी गाउँपालिकाको वडा नम्बर ५ तथा चौतारा साँगाचोक गढी नगरपालिकाको ९, १०, ११, १२ र १४ नम्बर वडा डुब्नेछन् । यस्तै इन्द्रवती गाउँपालिकाको वडाहरु १०, ११ र १२ सहित मेलम्ची नगरपालिकाको १३ नम्बर वडा पनि डुबान हुने क्षेत्रमा तोकिएको छ ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ७, ९, १०, १२ र १४ नम्बर वडा पनि सुनकोशी ३ को डुबान प्रभावित क्षेत्र हो । पाँचखाल नगरपालिकाको १३ र ८ नम्बर वडासहित भुम्लु गाउँपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछन् । चौरीदेउराली गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको केही भेगलाई पनि आयोजनाले डुबाउनेछ ।

काभ्रेकै तेमाल गाउँपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडाहरुलाई विद्युत, गृह, बाँधसहितको डुबान क्षेत्रका रुपमा कायम गरिएको छ ।

रामेछापको सुनापाती गाउँपालिकाको १, ४ र ५ सहित खँडादेवी गाउँपालिकाको १ नमबर वडा पनि आयोजनाको जलाशय र बाँधबाट प्रभावित हुनेछ । सिन्धुलीकै सुनकोशी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा पनि सुनकोशी ३ को डुबान क्षेत्रमा पर्छ ।

यो पनि पढ्नुहोस… 

दैलेखमा ग्यास उत्खननका निम्ति चीनले बनायो क्याम्प, अब उत्खनन सुरु गरीने

दैलेखमा ग्यास उत्खनन परिक्षणको निम्ति चाइनिज क्याम्प स्थापना भएको छ ।

चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरीएको हो अब धमाधम काम शुरु हुनेछ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो ।

प्रकाशित मिति November 2, 2019