दुबईबाट टर्चलाइटमा सुन लुकाएर ल्याउने ब्यक्ति पक्राउ

काठमाडौं, फागुन ३ । दुबईबाट टर्चलाइटमा सुन लुकाएर ल्याउने ब्यक्ति पक्राउ परेका छन् । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् ।

आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए ।

उनका अनुसार लाइटमा ६ सय ग्राम सुन लुकाइएको थियो । दुबईबाट लाइट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको मरासिनीले बताए । प्रहरीका अनुसार थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

पछिल्लो समय विदेशबाट आउनेहरुलाई प्रयोग गरेर तस्करहरुले सानो परिमाणमा सुन ल्याइ काठमाडौंमा संकलन गरि अबैध कारोबार गर्ने गरेका छन् ।

प्रकाशित मिति February 15, 2021