दुबईकी राजकुमारी बन्धकबारे राष्ट्रसंघले प्रश्न उठाउने

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का शासककी छोरीलाई आफ्ना बुबाले बन्धक बनाएको विषयमा संयुक्त राष्ट्रसंघले प्रश्न उठाउने भएको छ ।

देश छाडी भाग्ने प्रयास गरेपछि बुबाले सन् २०१८ देखि बन्धक बनाएका लतिफाको आरोप छ । आफ्ना साथीहरूलाई गोप्य रूपमा पठाएको भिडियोमा लतिफा अल मक्तुमले आफूलाई पिताले ‘बन्धक’ बनाएर राखेका र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी थिइन् ।

भिडियो सार्वजनिक भएसँगै अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघमाथि विश्वव्यापी दबाब बढ्दै आएको छ । यूकेले त्यस्तो भिडियो सार्वजनिक हुनु ‘निकै चिन्ताजनक’ रहेको प्रतिक्रिया दिएको छ । ‘यसबारे हामीलाई गम्भीर चासो छ,’ यूकेका विदेशमन्त्री डोमिनिक राबले भनेका छन् । उनले उक्त घटनाबारे राष्ट्रसंघका विकसित हुने हरेक घटनालाई ‘यूकेले निकै नजिकबाट नियाल्ने’ बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले राजकुमारी लतिफालाई बन्धक बनाइएको विषयमा यूएईलाई चाँडै नै सोधपुछ गर्ने जनाएको छ । ‘हामी यसबारे निश्चित रूपमा यूएईसँग प्रश्न उठाउनेछौं,’ कार्यालयका प्रवक्ता रुपर्ट कोलभिलले भने । लतिफाको भिडियो विश्लेषण गरिएपछि यसबारे राष्ट्रसंघीय निकायले अनुसन्धान गर्न सक्ने उनले बताए  ।

आफू डुंगा चढेर भागिरहेका बेला कमान्डोहरूले पक्रेर औषधि दिएको र हवाई मार्गबाट नजरबन्दमा राखिएको स्थानसम्म पुर्‍याएको राजकुमारी लतिफाले भिडियोमा बताएकी छन् । डुंगाबाट बाहिर निकाल्ने क्रममा लतिफाले सिपाहीहरूसँग प्रतिरोध गर्ने प्रयास गरेकी थिइन् । त्यस क्रममा उनले एक जना कमान्डोको पाखुरामा टोकेकी थिइन् ।

लतिफालाई नियन्त्रणमा लिएर उनलाई औषधि दिइएको थियो । त्यसपछि उनलाई दुबई ल्याइएको हो । करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा उनले भिडियोहरू रेकर्ड गरेकी बीबीसीले उल्लेख गरेको छ ।

मानव अधिकारसम्बन्धी राष्ट्रसंघीय पूर्व उच्च आयुक्त तथा आयरल्यान्डकी पूर्वराष्ट्रपति रोबिन्सनले लतिफाको हालको अवस्थाबारे जानकारी गराउन माग गरेकी छन् । ‘म लतिफाको अवस्थाबारे निकै चिन्तित छु । विषयवस्तु अघि बढेको छ । यसबारे अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।

लतिफाका बाबु शेख मोहम्मद बिन रसिद अल मक्तुम दुबईका शासक हुन् । विश्वकै धनी राष्ट्रप्रमुखमध्येका एक शेख मोहम्मद यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री पनि हुन् । स्रोत : बिबिसी 

प्रकाशित मिति February 19, 2021