विप्लव मेरै बाटोमा आए, स्वागतको प्रतिक्षामा छु : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नै बाटोमा आएको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘विप्लव अन्ततोगत्वा हाम्रै पार्टीकै बाटोमा मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई धन्यवाद भन्न चाहन्छु’, प्रचण्डले भने, ‘छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको छु ।’

प्रचण्डले विप्लव यही लाइनमा आउने विश्वाससमेत व्यक्त गरे । ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो’, विप्लवको विषयमा बोल्दै प्रचण्डले थप भने, मैले भनेको थिएँ– अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले कम्युनिस्ट आन्दोलन समाजवादको बाटोमा अगाडि बढेको समेत बताए । उनले कम्युनिस्ट राम्रो भए पनि यो बिग्रिएमा दुगन्धित हुने बताए ।

‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन कुनै रुढीवादी कू-संस्कृतिको आन्दोलन नभएको बताए ।

कम्युनिस्ट आन्दोलनमा समाजमा रहेका गलत प्रवृत्ति पनि प्रवेश गर्ने र गलत र राम्रो बीचमा निरन्तर संघर्ष चल्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले कम्युनिस्टहरू एकदमै राम्रा हुने र ती बिग्रिन थाले भने कुहिएको अन्डा झैं दु,र्गन्धित हुने बताए ।

उनले अहिले केपी ओली त्यस्तै प्रकारको अन्डा भएको बताए । ‘एकचोटी माउत्सेतुङले बिग्रेका कम्युनिस्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अन्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ । धेरै चिज प्राप्त हुन्छ । तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन ।’

प्रकाशित मिति March 6, 2021