मदन भण्डारी राजमार्गको निर्माण तिब्र, अबको एकै वर्षमा तराई नछोई काठमाडौं 

कार्तिक १९,सिन्धुली – सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। केही स्थानमा अवरोधका कारण निर्माण हुन नसके पनि धेरै स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने २५० किलोमिटर लोकमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ ।

यो सडकबाट तराईका जिल्लालाई नछोई काठमाडौं पुग्न सकिन्छ । आव ०६४/६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोडसम्म बजेट विनियोजन गर्दैआएको थियो । भित्री मधेसका चार जिल्ला मकवानपुर, सिन्धुली, उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने उक्त सडकलाई दुई लेनको बनाउने कार्यभइरहेको छ ।

सिन्धुलीको भिमानदेखिहेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म ११५ किलोमिटरलाई पश्चिम खण्ड र उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वीखण्डमा बाँडेर काम भइरहेको हो । ०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।

पश्चिमी खण्डमा ४५ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर केशव ओझाले बताए । यो खण्डमा मुआब्जा विवाद र कानुनी अड्चनका कारणविभिन्न भागमा करिब १६ किलोमिटर सडकको स्तरोन्नति कार्य रोकिएको छ । ‘यस क्षेत्रको करिब ६० प्रतिशत काम सकिएको छ,’ इन्जिनियर ओझाले भने ।

पश्चिमी खण्डमा पुल निर्माणको काम भने ८० प्रतिशत सकिएको छ । यस खण्डमा ३३ वटा पुल निर्माण गर्नुपर्नेमा २० वटा निर्माण भइसकेका छन् । ८ वटाको जगको काम सकिएकोछ भने ३ वटाको ५० प्रतिशतभन्दा बढी काम भएको छ । सिन्धुलीको धुरा बजार र अठौवामा मुआब्जा विवादले पुल निर्माणको काम सुरु हुन सकेको छैन । ‘पश्चिमी खण्डमा सडक रपुल गरेर ७० प्रतिशत काम सकिसकेका छौं,’ ओझाले भने ।

लोकमार्गको पूर्वी खण्डमा भने सडक निर्माण ६० प्रतिशत र पुलको काम ८२ प्रतिशत सकिएको पूर्वी खण्ड आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर गोविन्द डुमरुले बताए । १३५किलोमिटर सडकमध्ये ४५ किलोमिटर कालोपत्रे गरिएको छ । पूर्वी खण्डमा पर्ने ४३ वटा पुलमध्ये ३५ वटा पुल निर्माणको काम सकिएर सवारीसाधन नै आवतजावत गर्न थालिसकेकाछन् । यस खण्डमा पनि सडक र पुलको गरेर करिब ७० प्रतिशतभन्दा बढी काम भइसकेको डुमरुले जानकारी दिए ।

लोकमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आईईसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, राकेन जेभीले लिएका छन् । पहिलो लेयर ११ मिटर चौडाइ रदोस्रो लेयरमा त्यसमाथि ७ मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ । उक्त लोकमार्गको चौडाइ ३० मिटर रहनेछ ।मधेस आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प हुँदा चतरादेखि उदयपुर हुँदै सिन्धुली र मकवानपुर चुरेको फेदी हुँदै सवारीसाधन आउजाउ गर्ने गरेका थिए । त्यही मार्गलाईसरकारले वैकल्पिक मार्गका रूपमा विकास गरेको हो ।

विगतको सरकारले यो सडकलाई सहायक मार्गका रूपमा तोके पनि यही सडक हुँदै पूर्व–पश्चिम जोडिने मार्गलाई मदन भण्डारी लोकमार्ग नामकरण गरिएको हो । यो लोकमार्गलेइलामदेखि डडेलधुरासम्म समेट्छ । ०७२ चैत २९ गतेको राजपत्रमा सहायक सडक मार्ग तोकेर सडकको मध्यभागबाट दायाँबायाँ १५/१५ मिटर सडक सीमा उल्लेख गरिएको छ ।

सरकारले उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु आर्थिक वर्षका निम्ति ३ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरेको छ । तोकिएको समयभन्दा अगावै काम सक्ने निर्माणकम्पनीले १० प्रतिशत बोनस पाउने र समयमा पूरा नगरे कम्पनीले १० प्रतिशत हर्जाना बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरिएको नेपालको यो एक मात्र सडक आयोजना हो ।

‘केही स्थानमा बढी क्षति हुने भएकाले नक्सांकन फेरबदल गरिदिन अनुरोध भएको छ,’ उनले भने, ‘सिन्धुलीको धुराबजारदेखि खट्टारसम्म कहाँबाट सडक लैजाने अन्यौल नै छ। यस्तै कमलामाई नगरपालिका र मरिण गाउँपालिकाको सिमाना अठुवा भन्ने स्थानमा समेत सडकको नक्सांकन परिवर्तन गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा हालसम्म काम हुन नसकेको आयोजनाको पश्चिम खण्डले जनाएको छ। आयोजनाका केही स्थानको विवाद अदालतसम्म पुगेको र ती विवाद समाधान हुनेबित्तिकै काम अगाडि बढ्ने उनले जनाए। २०७३ साल कात्तिकमा सम्झौता भई २०७७ असार मसान्तमा सम्पन्न गर्नुपर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएकोे निर्माण कम्पनीले जानकारी दिएको छ।

राजमार्गको पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे भइसकेको निर्माण कम्पनीले जनाएको छ। ‘समग्रमा पूर्वी खण्डको प्रगति ६० प्रतिशतभन्दा बढी भइसकेको छ,’ पूर्वी खण्डका आयोजना प्रमुख ललितजंग खनालले भने, ‘धेरै स्थानमा कालोपत्रे तयारी भइरहेको छ धमाधम निर्माण हुँदै छ। सडकको ग्रेड मिलान गरी सब–बेस हाल्नुका साथै कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ, पूर्वी खण्डमा त्यस्तो ठूलो विवाद छैन, सामान्य विवाद ठूलो समस्या होइन।’

पश्चिम खण्डको एक सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, तीन सय ९७ ह्युमपाइप, १९ बक्स कल्भर्ट, चारवटा स्ल्याब कल्भर्ट रहने आयोजनाले जनाएको छ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको उक्त राजमार्गको पश्चिम खण्डको निर्माण जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसी शर्मा एन्ड लामा जेभीले लिएको छ। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यसमाथि दोस्रो लेयरमा सात मिटर चौडाइमा पिच हुने जनाइएको छ।

प्रकाशित मिति November 5, 2019