माओवादी केन्द्र सिन्धुलीले गर्यो दुधौलीमा पार्टी कार्यालय स्थापना

सिन्धुली, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी दुधौली नगरकमिटिको कार्यालय आज उद्घाटन गरिएको छ ।

माओवादी केन्द्र दुधौली नगरपालिकाको कार्यालय वडा नं. ९ लदाभिरमा राखी उद्घाटन गरिएको माओवादी केन्द्र दुधौलीका इन्चार्ज मातृका भट्टराईले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सिन्धुली जिल्ला अध्यक्ष लेखनाद दाहाल(राजन)को उपस्थितीमा पार्टी कार्यालयको स्थापना गरिएको हो ।

सर्बोच्च अदालतले नेकपा विभाजनको फैसला गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)र एमालेले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरिरहेका छन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले एकता चाहे पनि एकता विरोधीहरुले प्रतिमगन कदम चालेर एकता ध्वस्त पारेको आरोप लगाउनुभयो ।

नेपालमा एमसिसि लागु गर्ने बिषयको चर्चा देखि विदेशीहरुले केही भ्रष्ट नेताहरुलाई किनेर चलखेल गरेका कारण पार्टीमा यो परिस्थिती आएको उहाँले बताउनुभयो ।

उहाँले देशमा भएका भ्रष्ट्रचार, बलात्कार जस्ता अन्य जघन्य अपराधका अन्त्य गरी देशको परिवर्तनका लागि लडिरहने उहाँको भनाई छ । माओवादी केन्द्रले जिल्ला सदरमुकाममा केहि दिन अघिनै पार्टी कार्यलय पुनः स्थापना गरिसकेको छ ।   

प्रकाशित मिति March 12, 2021