प्रथम सुनकोशी गोल्डकप २०७६ : उपाधी भैरबलाई,आयोजक सुनकोसी दोश्रो, कुशेश्वर युनाइटेड तेश्रो

मुल्कोट, सिन्धुली । प्रथम सुनकोशी गोल्ड कप २०७६ फुटबल प्रतियोगिताको उपाधी काठमाडौँको भैरव फुटबल क्लवले जितेको छ । सुनकोशी युवा समाजद्वारा मुल्कोटको खेलमैदानमा आइतबार आयोजित फाइनल खेलमा आयोजक टिमलाई हराउँदै भैरव क्लव विजयी भएको हो । भैरव क्लवले आयोजक सुनकोशी युवा समाज क्लबलाई २-१ गोल अन्तरले हराएको थियो ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले विजयी टिमलाई शील्ड, पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । विजयी टिमले ५१ हजार रुपियाँ पुरस्कारसहित शील्ड र प्रमाणपत्र प्राप्त गरेको छ । सुनकोशी युवा समाजका अध्यक्ष विनोद श्रेष्ठका अनुसार, प्रतियोगितामा द्वितीयले ३१ हजार पुरस्कारसहित शील्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

आईतवार विहानै भएको अर्को खेलमा आईएम क्लव खुर्कोटलाई टाईब्रेकरमा पराजित गर्दै कुशेश्वर यूनाईटेड क्लव तृतीय भएको थियो । कुशेश्वर युनाईटेड क्लवले ११ हजार रुपियाँसहित शील्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा अनिल लामाले बेस्ट डिफेन्डर, रञ्जित गुरुङले उत्कृष्ट गोलकर्ता र डेनिस लामाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका छन् । उहाँहरु सबै भैरव क्लवका खेलाडी हुनुहुन्छ । त्यस्तै, उत्कृष्ट किपरको पुरस्कार कुशेश्वर युनाईटेडका किपरले प्राप्त गर्नुभएको छ । दिपावलीको अवसरमा कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

अध्यक्ष दाहालले खेल पर्यटनको माध्यमबाट सुनकोशीको आर्थिक विकासमा टेवा पुर्याउन सकिने सम्भावना रहेको बताउनुभयो ।
उहाँले मंंसिरसम्ममा गाउँपालिकाले किशोरी भलिबल प्रतियोगितासमेत गर्ने जानकारी दिनुभयो । त्यस्तै, अध्यक्ष कप, राष्ट्रपति कपलगायत प्रतियोगितामार्फत् युवा जनशक्तिलाई खेल क्षेत्रमा आकर्षित गरिने समेत अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलकुदको विकासमा स्थानीय सरकारले चासो प्रसंसनीय रहेको बताउनुभयो । यस्तै, सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिं मोक्तान, नेकपा सुनकोशीका अध्यक्ष रोमनराज गिरी, वडा नम्बर ५ का अध्यक्ष कृष्णराज दाहाल, वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति November 5, 2019
Loading...