मरिण गाउँपालिकाद्वारा कक्षा १० सम्म पूर्ण निःशुल्क शिक्षाको ब्यवस्था

सिन्धुली, चैत १ । मरिण गाउपालिकाले कक्षा १० सम्म पूर्ण रूपले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। सरकारले हालसम्म कक्षा आठसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउपालिकाले आफ्नै आन्तरिक स्रोतमा ९ र १० कक्षालाई पनि निःशुल्क बनाएको हो।

माध्यमिक तह सम्मको पढाइ निःशुल्क गर्ने कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का प्रतिविद्यार्थी वार्षिक ३ हजारका दरले विद्यालयलाई अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ।

कक्षा ९ लाई निःशुल्क बनाउन गत वर्षदेखि विद्यालयहरुलाई अनुदान दिन सुरु गरेको र कक्षा १० लाई निःशुल्क बनाउन चालु आर्थिक वर्षदेखि विद्यालयहरुलाई अनुदान दिन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताए। ‘गाउपालिकाले यस वर्ष कक्षा १० को पठनपाठन निःशुल्क बनाउन मात्रै विद्यालयहरुलाई १२ लाख अनुदान दिएको छ,’ उनले भने।

मरिणले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिँदै २०७७/०७८ का लागि कुल ४ करोड २६ लाख गाउँपालिकाको आन्तरिक स्रोतबाट शिक्षामा लगानी गरेको छ। बाल विकासको कोटा भएको विद्यालयको सहयोगी कार्यकर्तालाई संघीय तथा प्रदेश सरकारले दिँदै आएको ७ हजार तलबमा प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ६ हजारका दरले गाउँपालिकाले अनुदान दिएर अहिले मासिक १३ हजार तलब सुविधाको व्यवस्था गरेको छ।

बाल विकासको कोटा नभएको १९ विद्यालयमा बाल विकासको स्थापना गरेर त्यहाँ कार्यरत बालविकास कार्यकर्तालाई पनि मासिक १३ हजारकै दरले तलब सुविधा दिँदै आएको शाखा प्रमुख बरालले बताए।

बाल विकास केन्द्र भएका ४८ विद्यालयहरुलाई सञ्चार खर्च, विद्यालय कर्मचारीका लागि प्रोत्साहन अनुदान पनि गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ। कक्षा १–३, १–४ सम्म सञ्चालित एक मात्रै दरबन्दी भएको र निमावि र माविसम्म सञ्चालित उच्च विद्यार्थी अनुदान भएका १५ विद्यालयहरुलाई शिक्षक व्यवस्थापनको लागि अनुदान, एउटा पनि निमावि दरबन्दी नभएको १४ र एउटा पनि दरबन्दी नभएको ३ माविलाई शिक्षक व्यवस्थापनका लागि पनि अनुदान दिएको शाखा प्रमुख बरालले जानकारी दिए।

अनाथ तथा द्वन्द्वपीडित परिवारका बालबालिकालाई अध्ययन निरन्तरताका लागि पनि गाउँपालिकाले अनुदान उपलब्ध गराएको छ। गाउँपालिकाले शैक्षिक गुणस्तर हासिल गर्न र शिक्षण क्रियाकलापलाई प्रविधिमैत्री बनाउन जिल्लाका अन्य स्थानीय तहको तुलनामा अलि बढी लगानी गरेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए। थाहाखबरबाट ।

प्रकाशित मिति March 15, 2021