मुख्यमन्त्री हेलिकप्टरमा ससुराली पुगे

काठमाडौं । नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।

राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ । राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नाे जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्याे , म त जन्मिएकाे मात्रै,मेराे गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानाे स्वागत र सत्कार गर्नुभयाे,धेरै खुशी लाग्याे’, उनले लेखेकी छन् ।

आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन्। शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँकाे लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतकाे पहुँचले जनतालाई जाेड्न बाँकी रहेछ, अवश्य नै म र मेराे श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईकाे ध्यानाकर्षण भएकाे छ , सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए ।

संयोग कस्तो भने, आजै वालुवाटारमा प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम आयोजना गर्नुभएको छ । ओलीको किचेन क्याविनेटका सदस्य राई भने चियापान छाडेर ससुराली पुगेका हुन् । जनआस्थाबाट ।

प्रकाशित मिति March 16, 2021