पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली हुन् : खनाल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुटबन्दी सुरु गर्ने नेता अध्यक्ष केपी शर्मा ओली नै भएको टिप्पणी गरेका छन्।

बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय भेलामा बाेल्दै उनले ओलीले पार्टीमा अनेक नाममा गुटबन्दी चलाएको बताए। उनले आफूहरूले नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको विशेष अवस्थामा यो भेला आयोजना गरिरहेको बताए।

ओलीले मनपरीतन्त्र र अहंकारले ग्रस्त भएर पार्टीलाई बेवास्ता गरेर एकलौटी ढंगले अघि बढ्न खोजेको बताए। पार्टी एकीकरणपछि पार्टी जुन ढंगले अघि बढ्ला भन्ने अपेक्षा थियो त्यस अनुसार हुन नसकेको उनको भनाइ छ।

‘हामीले सरकारको शैलीको आलोचना गर्न थाल्यौं। तर, ओलीले पार्टीको बैठकमा सहभागिता नै जनाउन छाड्नुभयो। एमालेमा गुटबन्दी सुरु गर्ने नेता अरु कोही होइन ओली हो’, खनालले भने, ‘मदन भण्डारी फाउन्डेसनमार्फत् ओलीले गुटबन्दी मौलाउने मौका दिनुभयो। त्यसपछि विधि प्रक्रिया मिचिन थाल्यो।’

दुई तिहाइ बहुमतपछि ओलीको नेतृत्वमा सरकार गठन गरिएको तर, ओली नेतृत्वको सरकारले पार्टीको कार्यदिशा, विधि, पद्धतिलाई अस्वीकार गर्ने काम गरेको आरोप लगाए।

‘एकीकरणपछि पार्टी जुन ढंगले अघि बढ्ला भन्ने अपेक्षा थियो। त्यसो भएन। हामीले प्रश्न उठाउन थालेपछि दुई तिहाइ बहुमत रहेको संसद्को विघटन गर्नुभयो’, उनले भने, ‘त्यो संविधानलाई उल्लंघन गर्ने घटना थियो। त्यो राजनीतिक घटना र संवैधानिक घटना थियो। त्यसैले हामीले संवैधानिक र राजनीतिक लडाइँ लड्यौं।’

सरकारको तीन वर्षका नीति र कार्यक्रममा पार्टीमा कुनै सरसल्लाह नभएको बताए। ‘पार्टीका नीति र कार्यदिशा प्रतिबिम्बित भएन। तीनवटा बजेट आयो। तर, पार्टीका नीति र सोच प्रतिबिम्बित भएन। पार्टीसँग सरसल्लाह गरिएन’, उनले भने।

निर्वाचनमा प्रस्तुत गरेका घोषणापत्रको प्रतिबद्धतालाई सरकारले लागू नगरेको उनले बताए। चुनावका प्रतिबद्धतालाई प्रधानमन्त्रीले लागू गर्न नसकेको उनको भनाइ छ।

‘संसद्‌बाट प्रगतिशील विधेयक बनाउन सक्थ्यौं। तर, सरकारले अनेक विवादास्पद विधेयक ल्यायो। गुठी विधेयकमा त काठमाडौंका जनताले विद्रोह गर्ने स्थिति बन्यो। भ्रष्टाचारलाई निर्मुल गर्ने काम भएन। भ्रष्टाचारीलाई प्रधानमन्त्रीबाटै संरक्षण गर्ने काम भयो’, खनालले थपे।

उनले प्रतिनिध सभा विघटनका विरुद्ध गरिएको आन्दोलन सफल भएको बताए। ‘संसद विघटन राजनीतिक र संवैधानिक थियो। दुवै तर्फबाट लड्याैं। जनादेशलाई बचाउन सकियो। अस्थिरतालाई रोक्न सकियो’, खनालले भने।

तर, फागुन २३ गतेको सर्वाेच्को फैसला रहस्यमय रहेको बताए। जसका कारण आफूहरू तीन वर्ष पहिलेको अवस्थामा पुगेको बताए। ‘फैसलाले हामी तीन वर्षअघि पुगेका छौं। पहलकदम ओलीले लिनुपर्ने थियो। एकलौटी गर्न थाल्नुभयो। आफ्ना मान्छे राखेर निर्णय फागुन २८ मा निर्णय गराउनुभयो’, उनले भने।

प्रकाशित मिति March 17, 2021