हामी सिमानामा सिपाही भएर बसेका छौं, भारतले छुन पनि सक्दैन’

राजविराज : सीमास्तम्भहरू भत्केर जीर्ण भई नदीले बगाएर बेपत्ता छन्। मुख्य १२ वटा जंगे पिलरसहित सप्तरीमा ४५० वटा सीमास्तम्भ हराएपछि सप्तरीबारी सजीव जंगे पिलर बनेका छन्। छिन्नमस्ता गाउँपालिका ४ का ७१ वर्षीय आनन्दी यादवले भने, ‘धेरै सीमा स्तम्भहरू हरायो, बगायो, कतिपय गायब पारियो तर हामीलाई पुरानो सीमा सबै थाहा छ।’ माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बलले पछि सार्दै आएको बताएका उनले छातीमा मुड्की राख्दै भने, ‘हाम्रो नेपाललाई भारतले धकेल्दै आएको छ, हामी पनि खडा छौं, रगत बगाउन तयार छौं, म बाचुन्जेल भारतलाई एक इन्च सिमाना मिच्न दिन्न।’

यो उनले त्यसै भनेका होइनन्। दक्षिण सीमावर्ती क्षेत्रका नेपालीले सीमाको रक्षाका लागि रगत बगाउँदै आएको इतिहास कोट्याउँदै यादवले थपे, ‘२५ वर्ष अघि सीमा मिचेको विरोधमा उत्रिँदा लालापट्टीका किसुनदेव यादवको गोली लागेर मृत्यु भयो। सोही घटनामा धनपैत यादवको हातमा गोली लाग्यो, अरू पनि घाइते भए।’ नेपाली सीमामा आएर गोली प्रहार गरेर हत्या गरेको आरोपमा धेरै पछि पक्राउ परेका भारत बिहार सुपौल जिल्लाको कमलपुरका कैला यादव हाल राजविराज कारागारमा कैद छन्।

पानीको धारभित्र मुख्य स्तम्भ नम्बर २२६ रहेको बताउँदै सप्तरीको छिन्नमस्ताका ७३ वर्षीय बमभोली राउत।

तीन वर्षअघि भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरीको तिलाठीका देवनारायण यादव, हर्षवद्र्धन कर्ण, सञ्जीव झा, रोशन झा, सुशील यादव र शंकरप्रसाद यादवलगायत घाइते भए। भारत बिहार सुपौल जिल्लाका कुनौलीवासीले घरखेत जोगाउने नाममा नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी २२३ नम्बरको मुख्य स्तम्भमै बाँध निर्माण गर्न थालेपछि रोक्न गएका तिलाठीवासीमाथि आक्रमण भएको थियो।

एकतर्फी ढंगले ०७३ साउन १३ गते खाँडो नदीमा निर्माण गरिरहेको बाँध तिलाठीवासीले भत्काएपछि आक्रमणमा उत्रिएका भारतीयलाई रगत बगाएर पनि नेपालीले पछि हट्न बाध्य बनायो। सप्तरी मात्र नभई बाँकेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध, कपिलवस्तुको महलीसागर, रूपन्देहीको रसियावल, खुर्द र लोटन, नवलपरासीको लिटिल गण्डक, रौतहटको बागमती-लालबकैया लगायतका बाँध तथा तटबन्धका कारण नेपाली सीमावर्ती बस्ती र खेती हरेक वर्षायाममा डुबानमा पर्दै आएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ र भारतको कमलपुर सीमामा नयाँ बनाएर राखिएको २२६ नम्बरको मुख्य स्तम्भ।

भारतले बनाएको बाँधका कारण डुबानको विरोधमा दक्षिणवर्ती सीमामा बसेका नेपालीले सीमाक्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। दसगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तर्राष्ट्रिय नियमविपरित भारतले सप्तरीमा पर्ने दसगजामै बनाएको सुरक्षा चेकपोस्ट र टहरा नेपालीको विरोधपछि ०७२ मंसिर १६ गते हटायो। साविक बेल्ही गाविस- ६ स्थित नेपाल-भारत सीमाको दसगजामा खडा भएको भारतीय सुरक्षा चेकपोस्टको दशगजामै गएर नेपालीले विरोध गरेपछि भारतीय सीमा सुरक्षा बल हटाउन बाध्य बन्यो। चेकपोष्ट भत्काउँदै एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकारे।

स्थानीय ७३ वर्षीय बमभोलि राउतले आफूले हेर्दाहेर्दै भारतीय पक्षले पिलर सारेर नेपालको जमिन मिचेको दाबी गरे। हेर्दा हेर्दै त्रियुगा खोला पारी रहेको तीनकुने स्तम्भ र २२६ नम्बरको स्तम्भ उखेलेर नेपालतर्फ सारिएको उनको भनाइ छ। ‘भारतीय नागरिक राति आएर हाम्रो भागमा स्तम्भहरू गाड्थे, हामी दिउँसो उखेलेर पुरानै ठाउँमा राख्थ्यौं’, राउत भन्छन्, ‘लालापट्टी गाउँलाई भारतले घेरेर निल्न खोजेकै हो तर हामी रहुञ्जेल सम्भव छैन।’

सिमानाका सिपाही !

(मेचीपारि, झापा) — भद्रपुर–३ डोलोवस्तीका ७० वर्षीय श्रीप्रसाद महतोले भारतले नेपालीको पश्चिमी भुभाग कालापानी आफ्नो बनाएको समाचार रेडियोबाट थाहा पाए । त्यो सुनेपछि उनी रातमा मज्जाले निधाउन सकेका छैनन् । वर्षौंदेखि आफूहरु बस्दै आएको जमीन पनि भारतले कब्जा गर्ने पो हो कि ! भन्ने त्रासले उनको मनमा डेरा जमाएको छ ।

‘भारतले राति नै पिलर सारेर हामीलाई लखेट्ने हो कि भन्ने डर भइरहेको छ,’ भद्रपुर नगरमा मेचीपारिको गाउँ पुग्दा उनले शंका व्यक्त गरे, ‘कालापानी कब्जा गर्नेले हाम्रो गाउँ पनि मिच्न के बेर !’

तर, कुनै हालतमा पनि भारतलाई जमीन मिच्न नदिने उनले अठोट सुनाए।

मेचीपारि सानो नेपाल छ।

भद्रपुर–३ मा पर्ने यो गाउँको पूर्वबाट मेची नदी बग्थ्यो, २०२० सालताका। नदीभन्दा झन्डै दुई किलोमिटर परै थियो, नेपाल–भारत छुट्याउने सीमा स्तम्भ। पहिला नेपालको यो भूमीमा अहिले बिहार किसनगंज जिल्लाको नेमगुडी गाउँ छ।

२२ सालपछि नदीले धार फेरेर पश्चिमबाट वग्न थालेपछि भारतले साविकको सिमाना मिचेको थियो। ‘हामी बलियो भएर नबसेको भए हाम्रो गाउँ पनि उहिल्यै भारतले लगिसक्थ्यो,’ भद्रपुर–३ डोलोवस्तीका ७० वर्षीय श्रीप्रसाद महतो आत्मविश्वासका साथ भन्छन्, ‘हामी सिमानामा सिपाही भएर बसेका छौं, भारतले छुन पनि सक्दैन।’

महतोका अनुसार यो गाउँमा ५० वर्ष भन्दा अघिदेखि नेपाली बसोबास गरिरहेका छन्। जसका कारण भारतले अतिक्रमण गरिहाल्ने साहस गरेको छैन। ‘हामी बसेका छौं र भारतले अतिक्रमण गर्ने आँट गरेको छैन,’ महतो भन्छन्। गाउँ नभएको भए भारतले मेची नदीलाई मुख्य सिमाना मानेर जमीन कब्जा गर्ने उनको दाबी छ। महतोका अनुसार डोलोवस्ती, भाङवारी र डाँडागाउँ छाडेर आसपास विस्तारै भारतले अतिक्रमण गरिरहेको छ। डोलोगाउँ उत्तर पश्चिमको सिमाना त भारतले नदीमा कायम गरिसकेको छ।

मेचीपारिको यो गाउँ अलग प्रान्त जस्तो लाग्छ। त्यही भएर सरकारी अनुपस्थितिको फाइदा उठाउँदै विस्तारै भारतले अतिक्रमण गरिरहेको स्थानीय उमेश कुर्मी बताउँछन्। पहिला यहाँका गाउँलेले भाग्दै आएको जमीन भारतीयले जोतभोग गरिरहेका छन्। उनका अनुसार यो गाउँको करिव सय बिगाहा जमीन अहिले भारतीय भूमिमा परेको छ।

भद्रपुर ३ डोलोवस्तीका स्थानीय । उनीहरु अतिक्रमणविरुद्ध सिपाही बनेर उभिएका छन् । तस्बिर : पर्वत पोर्तेल

विगतमा नेपाली रहेका केही परिवार अतिक्रमणपछि भारतीय बनेका छन्। २०४२ सालको नापीबाट भारतीय भूमिमा जमीन परेका परिवारका सदस्य सम मुर्मुले थाहा पाउँदासम्म उनको घर अघिल्तिर सीमा स्तम्भ थिएन। तर, अहिले उनको आँगनमै स्तम्भ उभिएको छ। ‘मैले थाहा पाउँदासम्म यहाँ पिलर नै थिएन,’ मुर्मुले भने, ‘पहिलाको नेपाली गाउँ रातारात भारत बनेछ।’

स्थानीय लक्ष्मण महतोका अनुसार द्वन्द्वकालमा प्रहरी चौकी विस्थापित भएको मौका छोपेर भारतले यहाँ पुनः अतिक्रमण गरेको थियो। अहिले पनि जमीन मिच्ने क्रम रोकिएको छैन। ‘हामीले बेला बेला विरोध गरेपछि भने अतिक्रमण कम भएको छ,’ उनले भने, ‘आवाज नउठाउने हो भने कतिबेला भूमि भारतले लैजान्छ पत्तै नहुने रहेछ।’

सिमानामा सिपाही जस्तो पहरा दिएर बसेका यो गाउँका सर्वसाधारण सधैं उपेक्षित बन्ने गरेका छन्। राजनीतिक दलले खासै चासो र चिन्ता नदिएको स्थानीयको आरोप छ। स्थानीयवासीका अनुसार भोटका बेला बाहेक नेता तथा राजनीतिक दलका मान्छेहरु हत्तपत्त मेचीपारि आइपुग्दैनन््। ‘भोट माग्ने बेलामा चै नेताहरुको लश्करै लाग्छ,’ स्थानीय लेकेरु राजवंशीको आक्रोस छ, ‘नत्र अरुबेला कोही पनि आउँदैनन्।’

करिव १ सय ५५ घर धुरी रहेको यो गाउँमा राजवंशी, सन्थाल र कुर्मी समुदायको बसोबास छ। स्थानीयको मुख्य पेशा खेती किसानी हो। यहाँ यातायातको असुविधा छ। किनमेल गर्न नेपाल भन्दा भारत पुग्नै सहज छ। सरकारी कामकाजका लागि नगरपालिका पुग्न भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन। ‘बल्ल झोलुंगे पुल बन्दैछ,’ एक स्थानीयवासीले भने, ‘पुल बनेपछि वल्ल आवातजावतको समस्याबाट छुट्कारा मिल्ने छ।’

सहकर्मि मनोहर पोखरेल र पर्वत पोर्तेलको सहयोगमा ।

प्रकाशित मिति November 12, 2019
Loading...