भीम रावल र जनार्दन शर्मालाई मन्त्री बनाउने तयारी

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना रहेको छ ।

यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँजसो छलफल गरिरहेको आजको अखबारहरुमा छापिएको छ ।

स्रोतका अनुसार सरकारको आलोचना गरिरहेका नेताहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र सरकारसँग नरम रहेका, पम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना छ ।

त्यसैगरी बर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेबारी दिने तयारी गरेको स्रोतले बताएको छ। तर, उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन। जनभावना अनुसार पनि भीम रावल र जनार्दन शर्मालाई मन्त्रीमन्डलमा समावेस गर्नै पर्ने दवाब सरकारलाई परेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

सिन्धुली पुगेर नेकपा प्रवक्ता श्रेष्ठले भने – ‘मन्त्रिमण्डल छिट्टै हेरफेर हुन्छ’

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनुभएको छ । हरिहरपुरगढी गाउँपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले मन्त्रीमण्डल हेरफेर हुने बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड बिचमा मन्त्रीमण्डल हेरफेरबारे कुराकानी भएको र एउटै मन्त्री ५ बर्ष सम्म बसिरहने गरि स्थायी नियुक्ति जस्तो पनि नभएको उहाँले प्रष्ट पार्नुभयो । मन्त्रिमण्डल हेरफेरबारे मनोबल र निराशा नआओस भनेर सार्वजनिक नगरिएको तर छिट्टै नै हेरफेर हुने बताउँदै श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्दा कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

प्रकाशित मिति November 13, 2019