सिन्धुलीगढीमा बन्दै छ कतिमा राम्रो दरबार….

कात्तिक २७, सिन्धुली । सिन्धुलीगढी घुमेर हेर्दा कतिमा राम्रो दरबार… यो गीत सुनेर सिन्धुलीगढी पुग्नेहरु धेरै छन तर त्यहा त्यस्तो राम्रो दरबार भने अहिले छैन तर निकट भविश्यमै सिन्धुलीगढीमा दरबार भने बन्दै छ । नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढीमा युद्ध संग्रहालय पनि निर्माण हुने भएको छ । ऐतिहासिक सिन्धुली गढीमा प्रदेश-३ सरकारले दरवार निर्माण गर्ने भएको छ भने नेपाली सेनाले युद्ध संग्रहालयको निर्माण गर्ने भएको छ ।

नेपाल आक्रमणको लागि भारतबाट जनकपुर हुँदै काठमाडौंतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाली सेनाले आक्रमण गरि कात्तिक २४ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेको थियो । अत्याधुनिक हतियारसहित आएको ब्रिटिस सैनिकलाई गढीमा बसेका नेपाली सेनाले तोप तथा ढुँगा मुढा हानेर आक्रमण गरेका थिए । उनीहरुले जंगलमा रहेको अंरिगालको गोलामा ढुँगा हान्दा अरिंगाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको इतिहासमा उल्लेख छ । भाग्ने क्रममा उनीहरुलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितर वितर भएको थियो । ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका किनलक पराजय स्विकार गरी भागेर भारत फर्किएका थिए ।

ऐतिहासिक सिन्धुली गढीमा लामो समय सिन्धुली र रामेछाप जिल्लाको भूभाग समेत हेर्ने गरी सदरमुकाम बसेका थियो । बडाहाकीम बस्ने सो स्थानमा दरबार पनि रहेको थियो । औलो हराएसँगै गढीको सदरमुकाम सिन्धुली माढीमा झरेपछि सिन्धुली गढी विस्तारै ओझेलमा पर्यो ।

तत्कालीन माओवादी पार्टीले २०५२ मा सशस्त्र युद्धको घोषणा गरेपछि सिन्धुली गढीमा रहेको प्रहरी चौकिमा आक्रमण गरे । माओवादीले आक्रमण गरेपछि प्रहरी चौकी विस्थापित भई माढीमा सर्यो । त्यस पछि दरबारको संरक्षण हुन सकेन । दरबारको छानोमा छाएका जस्ता, घरका ढोका तथा काठहरु र इँटा समेत स्थनीयले चोरेर लगे । स्थानीयकै कारण ऐतिहासिक गढी दरबारको अस्तित्व सदाका लागि लोप भएको स्थानीय पुस्पा भुजेल बताउँछिन् । अहिले पनि चपौलीका स्थानीयको घरमा गढी दरवारका इँटा र जस्ता तथा काठ भएको उनले बताइन् ।

इतिहासको गर्भमा हराएको गढी दरबार र दरबार क्षेत्रको पुन: उत्खननको काम सुरु भएको छ । सो क्रममा त्यतिबेला सेनाले पानी खान बनाएको इनार, ढुंगा खोपेर पानी खान बनाएको ट्याङ्की, लडाइँ लड्नको लागि बनाएका बंकरहरु, तोप, तोप हान्ने ठाउँ लगायतका स्थान र सामाग्री फेला परेका छन् । तिनको संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकसित गरिँदै आएको गढीमा अब पुनः गढी दरबार र युद्ध संग्रहालय बन्ने भएको छ ।


नेपाली सेनाले बनाउन लागेको युद्ध संग्राहलय ४ करोड ५० लाखा रुपैयाँको लागतमा बन्ने भएको छ । सो संग्राहलयमा अंग्रेज सेनासँग नेपाली सेनाले लड्दा प्रयोग गरिएका सामाग्रीहरु व्यवस्थित तरिकाले राखिने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए ।थापाले सिन्धुलीगढी मात्रै नभएर अन्य गढीहरुको पनि संरक्षण गरिने र सिन्धुलीगढीमा निर्माण हुने युद्ध संग्रहालयमा सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हातहतियार र तोप समेत सिन्धुलीगढीको युद्ध संग्रहालयमा राखिने बताउनुभयो । सो संग्रहालयको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले शिलान्यास गरेका छन् ।

यसै गरी गढी दरबार बनाउनको लागि प्रदेश सरकाले बजेट विनियोजन गरेको प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले बताए । उनका अनुसार प्रदेश सरकारले दरवबार निर्माणको लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्वर्णीम इतिहास कायमा गरेको किल्ला ‘सिन्धुलीगढी’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एकिकरणको विषयमा चर्चा हुँदा आफूले सिन्धुलीगढी सम्झने गरेको बताउनुभएको छ ।

सिन्धुलीगढी २५२औँ विजय उत्सवमा सहभागी हुन सिन्धुली आउनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपाल एकिकरणको महान अभियानमा सिन्धुली गढीको महत्व पूर्ण भुमिका भएको र यही सिन्धुलीगढीको युद्धमा ब्रिटिस सेनालाई हराएर स्वर्णीम इतिहास कायमा गरेको किल्ला भएकाले नेपाल एकिकरणको चर्चा चल्दा आफूले सिन्धुलीगढी सम्झने गरेको बताउनुभएकाे हाे ।

सिन्धुलीगढीको लडाइँ नेपालको इतिहासमा एक महत्वपूर्ण लडाइँको रुपमा लिइन्छ । त्यस समयको संसारको शक्तिशाली साम्राज्यवादी शक्तिलाई पहिलोपटक हराउन सफल भएको आधुनिक नेपाल निमार्णको चरणमा महत्वपूर्ण भूमिका रहेको र नागरिक, सेना तथा पत्रकार मिलेर इतिहास जोगाउन लागेकोमा धन्यवाद दिँदै उच्च प्रशंसा गर्नुभयो । मन्त्री पोखरेलले सिन्धुलीगढीमा झण्डोत्तोलनका साथै नेपाली सेनाको युद्ध संग्रहालयको शिलान्यास गर्नुभएको थियाे ।

त्यसैगरी प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सिन्धुलीको मात्रै नभएर समग्र देशबासीको गढीको रुपमा रहेको बताउनुभयो । ‘आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पहिलो नाम सिन्धुलीगढी हो जुन हामीले बिर्सियौं भने हामी नेपाली भएको ठहरिदैनौ’, ढुंगेलले भन्नुभयो, ‘त्यसैले सिन्धुलीगढीको विकासमा प्रदेश सरकारले विषेश ध्यान दिन्छ ।’

सिन्धुलीगढीमा दरबार निर्माणका लागि आवश्यक रकम प्रदेश सरकारले सहयोग गर्ने र जसरी पनि सिन्धुलीगढी दरबार समयमा नै निर्माण गर्ने मन्त्री ढुंगेलको भनाइ थियो ।

विजय उत्सवमा नेपाली सेनासँग सम्बन्धित युद्ध सामग्री, भेषभुषा युद्ध कौशल तथा विविध सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।

सिन्धुलीगढी विजय उत्सव नेपाल पत्रकार महासंघ शिन्धुली शाखाले २०६७ सालदेखि शुरु गरेको हाे । संघले प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजय उत्सव मनाउने परम्परालाई स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि नगरपालिकाले अपनत्व ग्रहण गरेर निरन्तरता दिन शुरु गरेको हो ।

प्रकाशित मिति November 13, 2019
Loading...