सिन्धुलीको हरिहरपुरगढी बन्नसक्छ आकर्षक पर्यटकीय गन्तव्य

दीपक श्रेष्ठ,
हरिहरपुरगढी – सिन्धुली। मल्लकालीन समयमा मध्य तराईबाट पनौतीहुँदै काठमाडौँ निस्कने प्रमुख पैदल मार्गको रुपमा रहेको थियो, हरिहरपुरगढी । महेन्द्र राजमार्गको निर्माणपछि यो मार्ग ओझल पर्दै गयो । ब्यापारका लागि पनौती, बनेपा, भक्तपुरबाट हरिहरपुरगढी नजिकैको बसेरी गाउँ पुगेका नेवार समुदाय पनि घण्टेमा झरे । घण्टेका नेवारहरु अहिले व्यापार होइन कृषि पेशामा आवद्ध भइसकेका छन् ।

 

हरिहरपुरगढी किल्लाको संरक्षण र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारले चासो दिएको छ । सोही क्रममा हरिहरपुरगढी क्षेत्रमा पर्यटन विकास अवसर र चुनौती विषयक छलफल कार्यक्रम गरिएको छ । सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न छलफलमा पुरातात्विक महत्वलाई प्राथमिकतामा राख्दै गढीको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने योजनाअनुसार हरिहरपुरगढीलाई प्राथमिकतामा राखेको छ । सो परियोजनाका लागि एक करोड रुपियाँ विनियोजन गरिएको जनाइएको छ । कार्यक्रममा हरिहरपुरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलजंग राई, प्रदेश सभा सदस्य बुद्धिमान माझीलगायतको उपस्थिति रहेको हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता झलक माझीले जानकारी दिनुभयो ।

मकवानपुर राज्यको प्रमुख प्रशासकीय किल्लाको रुपमा इतिहासमा अंकित हरिहरपुरगढी सिम्रौनगढका राजा हरिसिंहदेवले निर्माण गरेको इतिहासमा पाइन्छ । सन् १३२६ मा दिल्लीका सुल्तान गयासुद्धिन तुगलगको नेतृत्वमा आएको मुस्लिम सेनाले कला, संस्कृति र आर्थिक हिसावले समृद्ध सिम्रौनगढ राज्यमाथि आक्रमण गरेपछि केही सेना र सहयोगीसहित राजा हरिसिंह देव, रानी देवलदेवी, मन्त्री चण्डेश्वर ठक्कुरलगायत उत्तरतिर भागेका थिए । त्यहि क्रममा हरिहरपुरको जंगबीचको डाँडामा किल्ला बनाई बसेको इतिहासकारहरु बताउँछन् । सोही किल्लामा पछि मकवानपुरका सेना राजाले आक्रमण गरेपछि हरिसिंहदेव पूर्वतिर भागेर तिनपाटन भन्ने ठाउँमा पुगेर किल्ला बनाई बसे र त्यसको केही समयपछि सोही स्थानमा राजा हरिसिंह देवको निधन भएको इतिहासमा पाइन्छ ।

सिन्धुलीगढीबाट पराजित भएर भागेका कप्तान किनलक बचेखुचेका सेना लिएर बारातिर अड्डा जमाउन थालेका थिए । बागमतीको किनार पछ्याउँदै हरिहरपुरगढी भएर पनौति निस्कने योजनाअनुसार अभियान थाल्ने क्रममा हरिहरपुरगढीमा किल्ला जमाएर बसेका गोर्खाली सेनासँग पुनः भिडन्त भएको इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा चर्चा गर्नुभएको छ ।

मकवानपुरका राजा हेमकर्ण सेनका छोरी इन्द्रकुमारीसँग पहिलो विवाह गरेका पृथ्वीनारायण शाह समेत हरिहरपुरगढीमा पटकपटक पुग्नुभएको इतिहासमा पाइन्छ । हेमकर्ण सेनले घण्टेमा महादेव मन्दिर स्थापना गरी घण्ट चढाएको शीलालेखमा पाइन्छ । मन्दिरमा प्राप्त शीलालेखमा हेमकर्णेश्वर महादेव भनेर उल्लेखसमेत गरिएको सो मन्दिरलाई घण्टे महादेवका नामले समेत स्थानीयले पुकार्ने गरेको पाइन्छ । बागमती नदिको मैदानी भागमा रहेको मन्दिर क्षेत्रमा रहेको गाउँलाई घण्टे गाउँका रुपमा चिनिन्छ । मन्दिरको छेउमा हेमकर्ण सेनको शीतकालीन दरबारसमेत रहेको छ । सो दरबारको संरक्षणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको छ ।

हरिहरपुरगढीमा रहेको देवीको मूर्ति चोरी भइसको छ भने सिंहको प्रस्तरकला टुटफुटको अवस्थामा रहेको छ । गढी नजिकै बसेरी गाउँमा हरिसिंह देवले नै स्थापना गरेको विश्वास गरिने कालीदेवीको मन्दिरसमेत रहेको छ । संरक्षणको पर्खाइमा रहेको मन्दिरभित्र टुटफुटको अवस्थामा रहेको पुरातात्विक मूर्तिसमेत रहेको छ । बसेरी गाउँमा रहेको रानी धारा, हेमकर्ण सेनको मुकामका रुपमा रहेको गुरुज्यूडाँडा, बाबुराम आचार्यले उल्लेख गर्नुभएको खुँडाघाटलगायत स्थलको खोजी गरेर इतिहासमा उल्लेखित स्थानको संरक्षण र प्रवद्र्धन गर्नसके हरिहरपुरगढीलाई एउटा प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

सो क्षेत्रमा बसोबास गर्ने दनुवार जातिको कला, संस्कृति, भाषा, दैनिकी र जनजीवनलाई समेत संरक्षण गरी पर्यटकीय उत्पादनको रुपमा प्रस्तुत गर्न सकिन्छ । बागमती र मरिणको किनारमा ठूल्ठूला टार क्षेत्रभएकाले कृषि उत्पादनको पनि प्रमुख क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । कृषि र पर्यटन मार्फत् स्थानीयको आर्थिक उन्नतिमा टेवा पुर्याउन सकिने सम्भावनालाई ध्यान दिएर समृद्ध सिन्धुली अभियानले घण्टेदेखि हरिहरपुरगढीहुँदै सिन्धुलीगढीसम्मको पदयात्राको सम्भाव्यता अध्ययनसमेत गरेको छ । सोही क्रममा घण्टेदेखि हरिहरपुरगढीहुँदै बसेरी भएर जितपुरबाट भीमगाडसम्म पदमार्गको निर्माणसमेत सम्पन्न भइसको छ । सो पदमार्ग निर्माणमा सांसद हरिबोल गजुरेलले क्षेत्र विकास कोषबाट बजेट विनियोजन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस –

ऐतिहासिक सिन्धुलीगढि र हरिहरपुरगढी जोड्दै नेपाली सेना

नेपालको गौरवशाली ईतिहास बोकेको महत्वपुर्ण जिल्ला सिन्धुलीमा सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढीमा नेपाल एकिकरणको दौरानमा पृथ्वीनारायण शाह र वंहाका फौजहरुले प्रयोग गरेको पदमार्गको पहिचान गरी एकिकरण पदमार्ग (Unification Trail) को रुपमा विकास गर्ने लक्ष्य अनुरुप नेपाली सेनाको सिन्धुली स्थित श्री बर्द बहादुर गणले हरिहरपुरगढी देखी सिन्धुलीगढी सम्म पैदल यात्रा पुरा गरी पदमार्ग, ऐतिहासिक बिश्राम स्थल, र धार्मिक सम्पदाहरुको पहिचान र मर्मत संम्भार गर्दै दुरी मापन गरी संकेत चिह्हरु समेत राख्ने कार्य गरेको थियो ।

प्रकाशित मिति November 15, 2019
Loading...