प्रेम सञ्जेललाई सरुवा गराउने ब्यापारीलाई ओलीको मन्त्री उपहार

काठमाण्डौ – बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनमा व्यापारी मन्त्री पनि परेका छन।

प्रधानमन्त्री ओलीले पूर्वएमालेबाट समानुपातिक सांसद भएका मोतीलाल दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री बनाएका छन्।तत्कालीन एमालेबाट समानुपातिकमा चार पुरूषलेमात्र सांसद अवसर पाएका थिए। दुगड मधेसी कोटाबाट सांसद बनेका थिए।

सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै अरू पार्टीले झैं तत्कालीन एमालेले पनि धनाढ्य व्यापारीलाई सांसद बनाएको थियो। तीमध्ये दुगड एक हुन्।

सेन्चुरी मसला उद्योग पनि दुगडको हो।

२०७० सालमा उनले खोलेको नव नेपाल पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा एक हजार तीन सय ९८ मन ल्याएको थियो। चुनावमा जमानतसमेत जोगाउन नसकेपछि उनले आफ्नो पार्टीलाई एमालेमा विलय गराए।

दुगड पहिलो पटक २०६४ सालमा सांसद भएका थिए। त्यतिबेला सद्भावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सांसद बनेका हुन्, उनी नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिने उद्योगपति हुन्। प्रधानमन्त्री तथा नेकपाका ठूला नेता विराटनगर जाँदा दुगडकै होटलमा बास बस्छन्।

तत्कालीन उपसचिव प्रेम सञ्जेलसँगको विवादमा उनी तानिएका थिए। २०७५ साल भदौ १ गतेबाट लागू भएको श्रम ऐन उनको उद्योगमा लागू भएको नभएको बारे उपसचिव सञ्जेलले असोजमा उनको उद्योगमा अनुगमन गरेका थिए।

दुगडको उद्योगमा श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक लागू नभएको सञ्जेलले भेटे। र, एक महिनाभित्र न्यूनतम् पारिश्रमिक लागू नगरे कारबाही गर्ने चेतावनी दिए। त्यतिबेला दुगडमात्र होइन अरू ५ उद्योगमा पनि सञ्जेलले अनुगमन गरेर श्रम ऐन तत्काल लागु गर्न निर्देशन दिएका थिए।

दुगड र सञ्जेलको एक अर्को मुद्दामा सुरूमै टकराव सुरू भएको थियो। सेञ्चुरी मसला उद्योगमा कार्यरत विनोद मेतरले अन्यायपूर्वक सेवाबाट हटाएको भन्दै दुगडविरूद्ध श्रम कार्यालयमा मुद्दा हालेका थिए। श्रमले पुनर्बहाली गर्न आदेश दियो। तर, दुगडले पुनर्बहाली गरेनन्।

मेतर सर्वोच्च अदालतबाट मुद्दा जितेको आदेश लिएर रोजगारदाता कम्पनी गए। सेञ्चुरी मसला उद्योगले पुनर्बहाली गर्न आनाकानी गरिरहेका थिए। तर सञ्जेलले मेतरलाई पुनर्बहाली गराएका थिए।

जब सञ्जेलले श्रम ऐन लागु गराउन खोजे उनको सरूवा भयो।

नयाँ मन्त्रीले लिए सपथ

राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ।नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन्।

प्रधानमन्त्री ओली बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए।

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ। कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति November 21, 2019
Loading...