श्रममन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरें : गोकर्ण विष्ट

काठमाण्डौ – निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले पदमा हुँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका छन्।

उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन्।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।

उनले आफू थप ऊर्जा र प्रेरणाको साथमा मन्त्रीबाट बाहिरिएको बताए।यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने अवसर प्रदान गरेकोमा समेत धन्यवाद दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ‍ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। प्रधानमन्त्रीले ९ जना मन्त्रीलाई मन्त्रिपरिषद्मा भित्र्याएका छन् भने ९ जनालाई हटाइदिएका छन्।

 

प्रधानमन्त्रीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामेश्वर राय यादवलाई सुम्पिएका छन्।

एक व्यवसायीले सामाजिक संजालमा लेखेका छन् ‘श्रम मन्त्री बिष्ट असल नियतका थिए । श्रममा नीतिगत रुपमा असल निर्णय भएका थिए, श्रमिकका पक्षमा भएका थिए । त्यसलाई म्यानपावर ब्यवसायीले मन पराएनन् र संघमा बहुमत हुँदाहुँदै पनि चुनाबमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराए । अन्तत मन्त्री आफैँ साईड लागे । दलालहरुको शक्ति अदम्य छ ।’

‘असल र इमान्दारहरुलाई जहाँ पनि धेरै टिक्न दिइदैन यो नेपाली विशेषता नै हो दु:खद कुरा’ भन्दै समर्पण भट्टराईले लेखेका छन् । गोकर्ण विष्टले नेपाली जनताको लागि केही सकारात्मक राम्रो काम गरेका थिए बेग श्रेष्ठले लेखेका छन् ‘दलाल माफियाहरुलाई ठगीमा सहजताको लागि गोकर्ण बिस्टलाई हटाइ छाडे । जनताको लागि केही राम्रो काम गरेको देख्ने नसहने राजनीतिक नेतृत्वको चाल देखियो।’

प्रकाशित मिति November 21, 2019