पोर्चुगलमा सडकमै सुत्छन् नेपाली, घरपरिवारबाट समेत पाउन छाडे साथ

लिस्बन, पाेर्चुगल – नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीको छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । नेपालीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।

नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने अर्को चुनौती पनि छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको बास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चासो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे बताउछन ।

उहाँका अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थभन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उहाँ भन्नुहुन्छ, ‘सडकको बास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।’

किन सुत्छन् सडकमा ?

कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नेहरु काम नपाएर छटपटाउनुपर्ने विकराल समस्या पैदा भएको छ । विकृति, गलत सङ्गत, कुलत, महत्वाकांक्षा र अस्वभाविक सपना टुट्ने र फुट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् ।

 

पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाण्डौका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाउनुभयो । ‘सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्’, उनीहरु भन्छन्, ‘हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।’

सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गुनासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कुलतमा फस्ने बताउँछन् । कुलत, डिप्रेसन अस्वथ्य र बैराग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ ।

सरोकारवाला उत्तिकै अग्रसर

सडकजीवन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै गम्भीर बनेको छ । समस्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्य दूतावाससँग छ । कामको सिलसिलामा पोर्चुगल आउनेलाई ठूलो सपना नदेख्न र कूलतमा नफस्न लिस्बनका लागि अवैतानिक वाणिज्य दूत मकरबहादुर हमालको सुझाव छ । उहाँ समस्याको समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताउनुहुन्छ ।

एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ । उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेस्क सञ्चालनमा ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्थासँग समन्वय गरी उद्दार गर्न सकिन्छ ।

बाईलाइन…

नेपाली सेनालाई रुसले प्राविधिक सहयोग गर्ने

१० मंसिर, काठमाडौं । नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् ।

‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं,’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भने । उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

लाभ्रोभले नेपालमा हेलिकप्टर आपूर्ति विस्तार गर्ने योजना पनि सुनाए । उनले भने, ‘रसियाको विमान, खासगरी एमआइ–१७ हेलिकप्टरहरु नेपालको उच्च अवस्थितिमा निकै उपयोगी प्रमाणित भएका छन् र यस क्षेत्रमा पनि सहकार्यको योजना बनाइएको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पूर्ण सदस्यता प्राप्त गर्न नेपालले चाहेको बताए ।उनले भने, ‘नेपालले हरेक समस्याको समाधान संवाद र आपसी समझदारीबाट हुन सक्ने विश्वास गर्छ, जसले गर्दा एससीओमा नेपालको सहभागिता महत्वपूर्ण छ ।’

अन्तरसरकारी संगठनको रुपमा एससीओको स्थापना सन् २००१ मा साङ्घाईमा गरिएको थियो । यसका संस्थापक सदस्यहरु चीन, काजकिस्तान, कीर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तान हुन् । भारत र पाकिस्तानले सन् २०१७ मा यस संगठनको पूर्ण सदस्यता पाएका थिए । नेपाल सन् २०१६ मा औपचारिक रुपमा एसईओ डाइलग पार्टनर बनेको थियो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 26, 2019
Loading...