खनियाखर्कमा खुल्यो जुनार एग्रो मार्ट

सिन्धुली । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–५ खनियाखर्कमा जुनार एग्रो मार्ट सञ्चालनमा आएको छ ।किसानले उत्पादन गरेका जुनारको बजार प्रवद्र्धन गर्नका लागि सो मार्ट सञ्चालनमा आएको हो ।

जुनार उत्पादक सहकारी संघले सञ्चालन गरेको सो मार्ट एक गाउँ, एक उत्पादन फलफूल बिक्री केन्द्रका रुपमा सञ्चालन गरिएको छ ।

मार्ट सञ्चालनका लागि भौतिक निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीबाट १६ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । थप १० लाख रुपैयाँ सहकारी र अन्य सहयोगबाट लगानी जुटाएको सहकारी संघका अध्यक्ष निर्मल रम्तेलले जानकारी दिए ।

सो मार्टमा जुनार, जुनारका जुस लगायत जुनार बगैंचाबाट उत्पादन हुने अदुवा, भटमास, मास मस्याङ लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ मार्ट खोलिएको अध्यक्ष रम्तेलले बताए ।

सो मार्टको प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले एक समारोहबीच उद्घाटन समेत गरेका छन् ।

उद्घाटन गर्दै मन्त्री नेपालले कृषि उत्पादनको बजार प्रवद्र्धनका लागि मार्टले मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । सो अवसरमा, प्रदेश सांसदहरु प्रदीप कटुवाल, विनोदकुमार खड्का लगायतको उपस्थिति थियो ।

जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 30, 2019