साझा पार्टीको मत एक प्रतिशतभन्दा कम, जमानत जोगिएन

पोखरा, धरान र भक्तपुरमा अहिलेसम्म आएको मतपरिणाममा साझा पार्टीले एक प्रतिशतभन्दा कम मत पाएको छ।

कास्की-२ को प्रतिनिधिसभा, भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकामा अहिलेसम्म ५३ हजार ४७७ मत गणना भइसकेको छ। भक्तपुरको अन्तिम मतपरिणाम आइसकेको छ।यहाँ नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेलले जितिसकेका छन्।

यी तीन ठाउँमा गरेर साझा पार्टीले जम्मा ४८८ मत ल्याएको छ। त्यो भनेको जम्मा गणना भएको मतको एक प्रतिशतभन्दा पनि कम (०.९१) प्रतिशत हो।पोखरामा १२६२६ मत गणना भइसकेको छ। जसमा साझा पार्टीले ९० मत ल्याएको छ।

भक्तपुरमा ३१ हजार गणना हुँदा साझा पार्टीले ३९३ मत ल्याएको छ।धरान उपमहानगरपालिकामा १७, १८, १९ र २० नम्बर वडाको ९ हजार ८५१ मत गणना हुँदा साझा पार्टीले पाँच मत मात्र प्राप्त गरेको छ।

मतगणनाको परिणाम यहीखाले आए साझा पार्टीले जम्मा मतको एक प्रतिशत ल्याउन मुस्किल छ। १० प्रतिशत मत ल्याएमात्र जमानत जोगिन्छ। यस हिसाबले साझा पार्टीको जमानत जोगिने अवस्था देखिदैन ।

भक्तपुरमा साढे ३१ हजार मत खस्दा साझा पार्टीलाई ३९३ मात्र

भक्तपुर प्रदेशसभा उपनिर्वाचनमा साढे ३१ हजार मत खस्दा साझा पार्टीले ३९३ मत पाएको छ।साझा पार्टीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) मा सुरज प्रधानलाई उठाएको थियो।यहाँ नेपाली कांग्रेसका उम्मेद्वार कृष्ण भँडेलले जितिसकेका छन्। उनले १३ हजार ४ सय ४९ मत पाएका छन्।

यसअघिको प्रदेशसभा निर्वाचनमा साझा पार्टी र विवेकशील पार्टीका संयुक्तले कालिचरण कार्कीलाई उम्मेद्वार बनाएको थियो। ‍विवेकशील साँझा पार्टीका कार्कीले ७८३ मत पाएका थिए। अहिले भक्तपुरमा साझा पार्टीको आधा मत कम भएको हो।

त्यस्तै, दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

भक्तपुरमा निर्वाचन परिणाम औपचारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति December 1, 2019
Loading...