धरानमा नेकपालाई उछिन्यो कांग्रेसले

मंसिर १५ – धरान उपमहानगरपालिकाको चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेसले पछाडि पारेको छ। मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ। वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।

अर्घाखाँचीको मालारानी-३ मा कांग्रेस विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।

खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

शोभाखरले एक हजार १५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाएका छन् ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार २२५ मत खसेको थियो ।

नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो ।

गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।

प्रकाशित मिति December 1, 2019