चितवनका अमृतराज हमाल जसले प्रचण्ड–रेणुसँग बदला लिए

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।नेपाली कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् ।अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् । भक्तराजले २८७५ मत प्राप्त गरे ।

यसअघि सो वडामा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्लामा चितवनमा कांग्रेसले आफ्नो बर्चश्व कायम राखेको छ । यो वडा प्रचण्डकै निर्वाचन क्षेत्र भित्र पर्दछ । चितवनको ३ वटै ठाउमा नेपाली काङ्रेसले नेकपालाई हराएको छ ।

मतदाताहरूलाई प्रभावित बनाउन भरतपुरमा शनिबार भतेर पनि खुवाइएको थियो ।

नेकपाका वडाध्यक्षलाई जिताउन भरतपुरकी मेयर रेणु दाहाल पनि सक्रिय भएर लागेकी थिइन् । तर, उनको केही चलेन ।

प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख र मुख्यमन्त्रीकै क्षेत्रमा कांग्रेसले नेकपालाई हरायो

हिजो भएको उपनिर्वाचनको परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले धेरै ठाउँमा नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गरेको छ । यसअघि नेकपा (तत्कालीन बाम गठबन्धन) ले चुनाव जितेका ठाउँमा यस पटक कांग्रेसले शानदार कमब्याक गरेको छ । भरतपुर, दाङ र भक्तपुर जिल्लामा यसअघि नेकपाका उम्मेदवार जनप्रतिनिधि रहेको र उनको निधनपछि निर्वाचन भएकोमा कांग्रेसले नतिजा उल्ट्याएको छ ।

भक्तपुर १ ‘ख’ मा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछाने सांसद थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णभक्त भँडेल विजयी भए । भरतपुर १६ मा यसअघि तत्कालीन एमालेका चतुरमान गुरुङ वडाध्यक्ष थिए ।

अहिले त्यहाँ कांग्रेसका अमृतराज हमालले चुनाव जिते । दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा पनि कांग्रेसका ताराबहादुर डाँडी निर्वाचित भए ।

भक्तपुर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । ओलीको निवास भत्तःपुरको बालकोटमा छ । यस्तै चितवनको भरतपुर १६ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । यहाँबाट दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । यस्तै दाङको घोराही १६ पर्ने निर्वाचन क्षेत्रबाट प्रदेशसभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 1, 2019