स्वर्ण जितेकी अनुपमा मगर : सिन्धुली शिविरदेखि मीरा राईकी ‘दोस्त’

उनले भूमिगत अवस्थाको माओवादी र पीएलएका साथीहरूलाई सम्झिइन्, ‘कोही बाहिर (बिदेश) हुनुहुन्छ, कोही यही (स्वदेश)। उहाँहरूलाई केही भन्ने शब्द नै छैन। सुरुमा कराते सिक्दा मेरो चाहना खेलाडी बन्नु थिएन। तर, उहाँहरुले मलाई खेललाई निरन्तरता दिनु राम्रो छ, जित्छौं सफल हुन्छौं भनिरहन्थे। हिजो जित्नुपर्छ, तिमी जित्छौ जित्छौ भन्नुहुन्थ्यो। तिम्रो गेम कहिले भनेर पीएलए र सँगै खेलेका साथीहरूले म्यासेज गरिरहनुभएको थियो। तिमी जित्त्छौ भनेर मलाई एकदमै उत्साह दिइरहनुभयो। त्यसकोलागि उहाँहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु।’

अनुपमाकी मिल्ने साथी हुन्, अल्ट्रा धावक मीरा राई। एक–अर्कालाई दोस्त भनेर बोलाउँछन्। यी दुई सिन्धुली शिविरमा सँगसँगै भलिबल, फुटबल, कराते खेल्थे, दौडन्थे। बालाजुमा पनि ध्रुव गुरुको घरमा साथै बस्छन्। ओमानमा दौडेर स्वदेश फर्केलगत्तै अनुको खेल हेर्न सातदोबाटो आइपुगिन्, मीरा। ‘मैले जित्दा दोस्त (मीरा) एदकमै खुशी हुनुभयो,’ अनुपमाले भनिन्, ‘मभन्दा बढी दोस्त उत्साहित हुनुहुन्थ्यो। निक्कै व्यस्त भउको बेला पनि मेरो खेल हेर्न आइपुग्नुभयो र मैले जितेलगत्तै निस्किनुभयो।’ उनले थपिन्, ‘मलाई कराते सिकाउने कमल गुरु, जीवन नै परिवर्तन गरिदिने ध्रुव गुरु, साथीहरू र परिवारलाई धेरै धेरै धन्यवाद।’

त्यो साल थियो २०६२। उनको बसाइ सेना, प्रहरीको आँखा छल्दै जंगलमै बढी हुन्थ्यो। बेला बेला गाउँ पस्ने पनि छँदै थियो। अर्को वर्ष जेठ २०६३ मा जनआन्दोलन सफल भयो। सबै दल मिलेर संसद ब्युँताए, राजा फाले, देशलाई लोकतान्त्रिक गणतन्त्र बनाए। त्यही राजनीतिक चक्रमा माओवादी लडाकु ‘जनमुक्ति सेना’ (पीएल) युद्धविरामपछि सात वटा शिविर बनाएर बसे। अनुपमा पुगिन्, सिन्धुली शिविरमा। त्यो बेला (२०६५ साल) मा उनी ६१ केजीकी थिइन्। तौल घटाउन शिविरमा कराते सिक्न थालिन्। ४९ केजीकी भइन्।

कमल वाइवासँग कराते सिक्न थालेकी अनुपमाले विस्तारै प्रतिस्पर्धामा पनि किकि–पञ्च प्रहार गर्न थालिन्। पीएलएको खेलाडी भइन्। पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा काँस्य हात पारिन्। त्यही खेलकुदमा पीएलको सहभागितासँगै नेपाली सेनाले खेल बहिस्कार गरेपछि देशको राजनीतिमा ठूलै भूकम्प गएको थियो। माओवादी सत्ताबाट बाहिरियो। आमा बितेपछि घरलेखानी पुगेर १५ दिनमा काम सकाएर अनुपमा सिन्धुली शिविर फर्किइन्। उनलाई बस्नै मन लागेन र काठमाडौं आइन्। तर, उनी खेलबाट भने टाढिइनन्। बालाजु डोजोमा प्रशिक्षक ध्रुव विक्रम मल्लसँग कराते कला निर्खानिर लागिन्।

सातौं राष्ट्रिय खेलकुदमा रजत हात पारिन्। गत चैतमा आएर आठौं संस्करणमा स्वर्ण चुमिन्। कोरिया पुगेर पनि एसियाली खेलकुद (सन् २०१४) मा पहिलो चरणमै नकआउट भएकी अनुपमाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) भने सनसनीपूर्ण प्रदर्शन गर्दै बुधबार स्वर्णपदक चुमेकी छन्। उनले एसियाली खेलकुद २०१८ मा कांस्य जितेकी पाकिस्तानी हमिदुल्लाह नारगिसलाई फाइनलमा हराएर ६८ केजीमाथिको स्पर्धामा स्वर्ण कब्जा गरेकी हुन्। त्यसअघि उनले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पहिलो भएकी श्रीलंकाली खेलाडीलाई पराजित गरेकी थिइन्।

‘त्यतिबेला संघर्ष गरेकी थिए, दुखका दिनहरु थिए, अब दुखका दिन गयो,’ सातदोबाटोस्थित कराते एकेडेमीमा पाएको सफलतापछि २८ वर्षीया अनुपमाले विगतललाई सम्झिदै भनिन्, ‘हरेक व्यक्तिले आफ्नो जीवनमा संघर्ष गर्नैपर्छ। मैले पनि त्यस्तै संघर्ष गरेको हो। तर, देशको लागि मेडल दिन पाउँदा एकदमै खुशी छु।

प्रकाशित मिति December 4, 2019
Loading...