३० मंसिर, काठमाडौं । सिन्धुली मरिणखोलाकी सविता राई २८ वर्षकी थिइन्, जब श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया उडे । अहिले उनी ३८ वर्षकी भइसक्दा पनि श्रीमान फर्केर आएका छैनन् ।
१० वर्ष अगाडि ऋणधन गरेर श्रीमानलाई विदेश पठाउँदा सविता राईको काखमा थियो सानो छोरा । आँखामा थिए सुन्दर भविष्यका सपनाहरु । श्रीमानले विदेशबाट पैसा कमाउलान् र जीवनयापन सहज होला भन्ने उनको सपना अब खण्डहर भइसकेको छ ।
म्यानपावरलाई ९५ हजारको थैलो बुझाएर मलेसिया उडेका थिए शुक्ले राई । विदेश गएको ३ वर्षसम्म उनले केही रकम पठाए पनि । सविताको जीवन लयमा फर्किँदै थियो । तर, एकाएक सबै कुरा बदलियो ।
सविता आफ्नो श्रीमान घर फर्किने दिन गन्दै थिइन्, तर श्रीमान भने उनीसित अकारण टाढिन थाले । आक्कलझुक्कल मात्रै फोन गर्थे । आफूले धेरै दुःख पाएको भन्दै रुन्थे । सविताले कामको बोझले होला भनेर केही समय मन बुझाइन् । फर्किन आग्रह नगरेकी पनि होइनन्, तर शुक्लेले जहिल्यै टारीरहे ।
आक्कलझुक्कल मात्रै सम्पकमा आउँथे शुक्ले । आफूलाई मलेसियाबाट नेपाल फर्काउन आग्रह गर्दै रुन्थे । तर आफू कहाँ छु भन्ने आफूलाई नै थाहा नभएको बताउँथे । श्रीमानले भनेको कसरी नपत्याउन् सविताले !
धैर्यता टुटेपछि सविताले आफ्नो श्रीमानलाई नेपाल फिर्ता ल्याउन विभिन्न निकाय धाइन् । अनुनय विनय गरिन् । अनि पो पत्ता लाग्यो शुक्लेले मलेसियामा अर्को विहे गरेर बसेका छन् । फिलिपिनो युवतीसँग उनले विहे गरेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को अध्ययनमा देखिन्छ ।
तर, उनी कहाँ, कुन ठाउँमा, कस्तो अवस्थामा बसेका छन् भन्ने पत्तो छैन । शुक्लेको फिलिपिनो युवतीबाट एक सन्तान पनि भइसकेको पत्ता लागेको छ ।
२ वर्षअघिसम्म शुक्ले परिवारलाई कहिलेकाँही लुकीछिपी फोन पनि गर्थे । ‘यता हामीसँग कुरा गरेको थाहा पाएपछि त्यो केटीले फोन खोस्दिने रहिछे,’ सविता भन्छिन्, ‘पोहोर दुई घण्टासम्म लगातार जंगलतिरबाट फोनमा कुराकानी गर्नुभयो । छोराछोरीसँग पनि बोल्नुभयो । त्यसपछि फोन नम्बर ब्लक छ । कहाँ कता हुनुहुन्छ केही पत्तो छैन ।’
अन्तिम पटकको कुराकानीमा छोरीले उनलाई जहाँ भए पनि आफूहरुले नेपाल ल्याउने बताएकी थिइन् । तर, उनले ठेगानासम्म भन्न नसकेको सविता बताउँछिन् ।
एक त रोगी ज्यान, अर्कोतर्फ परिवारको लालनपालनको दायित्वले थिचिएकी छिन् सविता । आफूले धेरै दुःख भोग्नु परे पनि श्रीमानलाई परिवन्धबाट छुटाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ ।
‘हामीलाई ठूलो ऋण छ, घरमा बसेको भाडा तिर्न नसकेर घरबेटीले निकालिदिए,’ सविता भन्छिन्, ‘जेनतेन गरेर गुजारा गरिरहेका छौं, उहाँलाई फर्काउन पाए सुखदुःख सँगै झेल्न पाइन्थ्यो ।’
सवितालाई आफ्ना श्रीमानप्रति अहिले पनि त्यतिकै माया र सद्भाव छ । श्रीमान कुनै परिवन्धमा फसेका हुन् भन्ने लाग्छ उनलाई । त्यसबाट मुक्त गराएर नेपाल फर्काउन पाए नयाँ जीवन नै पाइन्थ्यो कि भन्ने सोच्छिन् । तर सविताले सोचेजस्तो केही भइरहेको छैन ।
१० वर्षका बीचमा सविताले कति आँशु खसालिन् त्यसको हिसाव स्वयम् सँग छैन । अब त आँसु रित्तिए जस्तै भइसक्यो । अझै पनि उनमा शुक्ले फर्कन्छन् भन्ने भरोसा टुटेको छैन । तर, कहिले, कसरी.. ?
मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली
वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ ।
आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् ।
वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताउनुहुन्छ ।
पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताउनुहुन्छ । ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए ।
सबैभन्दा बढी नवलपरासीबाट बैदेशिक रोजगारीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०/२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३/१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।
विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ ।
प्रकाशित मिति December 16, 2019