अमेरिकन फौजी किराको कारण सिन्धुलीमा धान उत्पादन घट्यो

सिन्धुली जिल्लामा यो बर्ष अमेरिकन फौजी किराको प्रकोपका कारण धान उत्पादन गत बर्षको तुलनामा आठ दशमलब ३८ प्रतिशतले घटेको छ ।

जिल्लामा यो बर्ष धान उत्पादत गत बर्षको तुलनामा चार हजार २७७ मेट्रिक्टन (आठ दशमलब ३८ प्रतिशत) कम उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।उक्त केन्द्रका अनुसार यो बर्ष १५ हजार तीन सय हेक्टरमा धान खेती गरिएकोमा ४७ हजार ३५१ मेट्रिक्टन उत्पादन भएको छ । गत बर्ष १५ हजार ६१० हेक्टरमा गरिएको धान खेतीबाट ५१ हजार ६८२ मेट्रिक्टन उत्पादन भएको थियो ।

अमेरिक फौजी किराकै कारण यो बर्ष जिल्लामा धान उत्पादन घटेको उक्त केन्द्रका बागवानी विकास अधिकृत एवं सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त किराले झण्डै ३५ सय हेक्टरमा गरेका धान खेतीमा क्षेती पु¥यायो । धानबाली भित्र्याउने बेलामा धानको बाला काटेर अमेरिकन फौजी किराले क्षती पुर्‍याएको थियो ।”

यस अघि पछिल्लो पाँच बर्षमा सिन्धुली जिल्लामा धान उत्पादन नघटेको उक्त केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लामा ०७०/०७१ मा ४१ हजार ९७१ मेट्रिक्टन, ०७१/०७२ मा ४१ हजार ९७१ मेट्रिक्टन, ०७२/०७३ मा ४३ हजार ८७ मेट्रिक्टन, ०७३/०७४ मा ४६ हजार ९६५ मेट्रिक्टन र ०७४/०७५ मा ५१ हजार पाँच सय मेट्रिक्टन धान उत्पादन भएको थियो ।

यो बर्ष समयमै पानी परेको र अनुकुल हावापानीका कारण धान उत्पादन सुरुमा राम्रो देखिएपनि पछि अमेरिकन फौजी किराको प्रकोपले असर गरेको उक्त केन्द्रले जनाएको छ । जिल्लामा हाईब्रिड, साबित्री, पोख्रेली, रामधान, मन्सुली, खुमलचार लगायतका जातका धान खेती हुदै आएको छ ।

कमलामाई नगरपालिका –८ का वडा अध्यक्ष टिका मोक्तान पनि अमेरिकन फौजी किराले आफ्नो १२ कठ्ठा खेतमा लगाएको धानबाली असर गरेको बताउनुहुन्छ । “सधै ३० मुरी जति धान घरमा भित्राउथे ,” उहाँले भन्नुभयो, ‘यो बर्ष आधा १५ मुरी मात्रै भित्र्याए । अमेरिकन फौजी किराले बाला काटेर क्षेती गरेकोले धान उत्पादन घटेको हो ।”

हिलोमा गाडिएका धान अहिले खेत जोत्ने बेलामा उम्रिएर हरियो भएको उहाँले सुनाउनुभयो । गत असोज महिनाको अन्तिम तिर कमलामाई नगरपालिका र मरिण गाँउपालिकाको विभिन्न क्षेत्रमा धानबालीमा फौजी किराको प्रकोप देखिएको थियो ।

कमलामाई नगरपालिकाको वडा नं. १ र ८ तथा मरिण गाँउपालिकाको विभिन्न ठाँउमा धानबालीमा फौजी किराको प्रकोप देखिएको किसानले बताएका छन् ।कमलामाई नगरपालिका–१ को बलटा फाँटमा १५ बिघा भन्दा बढीमा जमिनमा लगाईको धानबाली फौजी किराले नष्ट गरेको स्थानीय किसान सुरेश सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति December 21, 2019
Loading...