समाजवादी पार्टीले सरकार छाड्यो, प्रधानमन्‍त्री ओली र यादवबीच मन्त्रिपरिषद्‌मा भनाभन

काठमाडौं :८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

मन्त्रिपरिषद्‌मा प्रधानमन्‍त्री ओली र यादवबीच भनाभन

एक महिनाअघि मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि समाजवादी र सरकारबीचको सम्बन्धमा चिसो सुरु भएको थियो। संविधान संशोधनलगायतका मधेस मुद्दा सम्बोधनमा दुई बुँदे सहमति गरी तत्कालीन संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो।

हालै राष्ट्रिय जनता पार्टी (राजपा)सँग सरकारले सहमति गरेसँगै समाजवादीमा असन्तुष्टि बढेको थियो। सरकारले मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका पाँच नेताहरुलाई बालुवाटार बोलाएर दुई बुँदे सहमति गरेको थियो। राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति गरेका दुई दल संघीय र प्रदेश २ मा सत्ता साझेदारी गर्ने तयारीमा जुटेका छन्।

संघीय सरकारमा एक मन्त्रालय र प्रदेश २ मा मुख्यमन्त्री राजपालाई दिने गरी प्रस्ताव सरकारले राजपा नेतृत्वलाई पठाइसकेको छ। छिटै राजपा सरकारमा सहभागी हुने संभावना छ।

पुस ७ गते साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए। संविधान संशोधन प्रस्ताव अस्वीकार भएपछि यादवले सरकार छोड्ने मुड बनाएका थिए।

संविधान सुधार तथा संशोधनका लागि विज्ञ समिति गठन गर्नका लागि यादवले संविधान संशोधन प्रस्ताव तयार गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्‍त्रीले ठाडै अस्वीकार गरेका थिए।त्यही विषयलाई लिएर मन्त्रिपरिषद्‌मा प्रधानमन्‍त्री र यादवबीच भनाभन पनि भएको थियो।

प्रकाशित मिति December 24, 2019