प्रचण्ड आज सिन्धुली आउँदै, सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उद्दघाटन गर्ने

सिन्धुली, १६ पुस : पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उद्दघाटन गर्ने भएका छन ।

२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । कमलामाई नगरपालिकाले ऐतिहासिक स्थल सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उदघाटन गर्ने तयारी गरेको हो । उद्दघाटनका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज सिन्धुलीगढीमा आउने कार्यक्रम रहेको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उद्दघाटन गर्न प्रचण्ड आउने भएपछी कमलामाई नगरपालिका लगाएत सिन्धुलीका विभिन्न स्थानिय तहले जनसमुदायलाई सिधुलीगढीमा उपस्थिती हुन आव्हान गरेका छन ।

उहाँका अनुसार भ्रमण बर्षलाई नै लक्षित गरेर सिन्धुलीगढीमा पृश्वीनारायण शाहको शालिक समेत अनावरण गरिने भएको छ । भ्रमण बर्षको सुरुवात नै सिन्धुलीगढीबाट गर्ने कार्यक्रम रहेको नगर प्रमुख खत्रिले बताउनुभयो ।

सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा नेपालकै अस्तित्व जोगाउन सफल भएको सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्छ ।

फिक्कल गाँउपालिकाले भ्रमण बर्षलाई लक्षित गरेर र्‍यफ्टिङ महोत्सव गर्ने जनाएको छ । गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाँउपालिकामा मुख्य रुपमा खेती गरिने किबीलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम गरिएको छ । गाँउपालिकाको गतिविधिलाई फोटोमार्फत प्रर्दशन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

रङ्गशालामा बेलुका ४ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

 

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नु हुनेछ । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ ।

भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 1, 2020