महामारीले प्रवासीलाई सम्झायो गाउँघर… !

काठमाडौं : २०७२ सालको महाभूकम्पको बेला लाखौंको संख्यामा काठमाडौंबासी गाउँ फर्किएको स्मरण ताजा नै छ ।

त्यस्तै विपद् परेको बेला सहरबासीहरु गाउँलाई सम्झन्छन् । यस पटक कोरोना भाइरसको महामारी फैलियो । काठमाडौं मात्रै नभएर प्रवासतिरका नेपालीले पनि वर्षौँअघि छाडेको गाउँघर सम्झिन थालेका छन् ।

त्यसो त, कोरिया, चीन, इटाली लगायत मुलुकमा रहेका नेपालीहरु फर्कने क्रम पहिले भन्दा बाक्लो छ । महामारीका बेला प्रवासीहरु गाउँ फर्कन नपाए पनि गाउँघरलाई सम्झिरहेका चाहिँ छन् ।

अमेरिकाबाट कृष्ण सादगीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कोरोनाको भयका कारण अमेरिका पूरै ठप्प हुँदैछ, कति समय यस्तो हुने हो, अनुमान गर्न गाह्रो छ । यस्तो बेलामा त आफ्नै गाउँ गएर बस्न पाए नी हुन्थ्यो !’

कृष्णको स्टाटसमा अमेरिका नै बस्ने टीका मैनालीले सहमति जनाउँदै लेख्छन्, ‘यस्तो बेला त आफ्नै गाउँघर पुगेर बस्न पाए पनि हुने नी जस्तो लाग्ने रैछ । तर अब त्यो पनि तत्काललाई सम्भव छैन । भाग्यले साथ दिए आफू जन्मेको देशमा नै मर्न पाइयोस् !’

महिनादिन अघि चीनको वुहानमा रहेका एक सय ८३ नेपालीलाई फिर्ता ल्याउन नेपाल सरकारले कठिन मेहनत गर्नु परेको थियो । कतिपयले त यस्तो पनि भनेका थिए कि, ‘संक्रमण लागिहाले नेपालमा उपचार सम्भव छैन । बिरामी भइहाले पनि बरु चीन जस्तो अत्याधुनिक देशमै उपचार सम्भव होला ।’

तर चीनबाट नेपालीहरु जुनसुकै हालतमा पनि स्वदेश फर्कन चाहन्थे । उनीहरुका परिवार र आफन्तले त काठमाडौंमा सरकारलाई दबाव दिन प्रदर्शन नै निकालिएको थियो । प्रदर्शनमा उनीहरुले भनेका थिए, ‘मर्नै परे आफ्नै ठाउँमा मर्ने !’

चीनपछि हाल इटली, स्पेन, जर्मनी लगायत देशमा कोरोनाको महामारी बाक्लो छ । यूरोपका विभिन्न स्थानमा रहेका दशौं हजार नेपाली समेत यसबाट प्रभावित भएका छन् । जर्मनीका सन्देश पाण्डेका अनुसार त्यहाँको सरकारले सबैलाई घरभित्रै बस्न भनेको छ । सबैजसो स्कुल, कलेज बन्द छन् ।

डराइहाल्नुपर्ने अवस्था नभए पनि विपद्को बेलामा नेपालीहरुले स्वदेशलाई ‘मिस’ गरिरहेको बताउँछन् पाण्डे । ‘यसरी पनि चल्दो रहेछ है देश, यसरी पनि बाँच्दा रहेछौँ है हामी जनता ! पशुपतिनाथकी जय, तिम्रो कृपा रहिरहोस् प्रभु, कसैलाई केही नहोस् !’ अमेरिकाबाटै रामप्रसाद खनालले लेखेका छन् ।

महामारीका बेला पूर्वपत्रकार समेत रहेका खनालले पनि आखिर पशुपतिनाथलाई सम्झिए । नेपालमा छँदा पत्रकारितामा सक्रिय सरोज ढुंगाना पनि हाल कोरोना प्रभावित क्षेत्रमा छन् । यो महामारीमा नर्वेबाट उनले पनि पशुपतिनाथलाई नै सम्झिएका छन्, ‘डब्लुएचओले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेलगत्तै चीनले कोरोनाको प्रकोप अन्त्य नजिक भएको घोषणा गर्यो ।

आधा विश्व एकातिर चीन एकातिर जस्तो देखियो । युरोपमा महामारी फैलिएपछि अमेरिकाले युरोप लगायत बढी संक्रमित भएका मुलुकसँगको हवाइ उडान बन्द गरेर आफूलाई सेफ राख्यो । अब यतिबेला कुनै बेलाको विश्व शक्तिकेन्द्र युरोप एक्लैले यो भाइरससँग बढी जुध्नुपर्ने देखियो । चीनले गरेको यो नयाँ घोषणाले भने नेपाल लगायत मुलुक तत्कालका लागि केही सुरक्षित देखियो । त्यसो त नेपालमा पशुपतिनाथ छँदैथे क्यारे !’

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020
Loading...