पार्टी एकताको महत्व बुझ्‍न नेता कार्यकर्तालाई नेकपा अध्यक्ष प्रचण्डको अपिल

वैशाख ९, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको महत्व बुझ्‍न र सुदृढ गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा मंगलबार साँझ विज्ञप्ती जारी गर्दै दाहालले पार्टी एकताको महत्व बुझ्‍न नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।

विज्ञप्तीमा दाहालले भनेका छन्, ‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्‍न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।’

नेकपाभित्र अध्यादेश विवादले नयाँ मोड लिइरहेका बेला दाहालले एकताका लागि भूमिका खेल्न आग्रह गरेका हुन् । उनले ७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको पनि उल्लेख गरेका छन् ।

कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएको अध्यक्ष दाहालको भनाइ छ ।

पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको दाबी गर्दे दाहालले षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।

‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु,’दाहालको विज्ञप्तीमा छ ।

दाहालले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक र समुदायमा अपिल पनि गरेका छन् ।

प्रकाशित मिति April 21, 2020