स्वास्थ्य सुरक्षा अपनाएर लकडाउन खुकुलो पार्ने तयारी सुरु’

१३ बैशाख, काठमाडौँ । कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ ।

‘मुलुकमा लकडाउन कसरी खोल्ने, कुन मोडेलमा जाने, कसरी संक्रमणको स्तर न्यून राख्दै मुलुकलाई विस्तारै कार्य व्यवहारमा फर्काउनेबारे छलफल सुरु गरेका छौं,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक एवं जनस्वास्थ्यविद् महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘लकडाउन पूर्ण तयारीसाथ खोल्नुपर्छ, त्यसमा पनि मुलुककै स्थान विशेषका लागि त्यहाँको स्थितिअनुसार फरक–फरक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।’

वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानीमा बिहीबारदेखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएका छन् । उनीहरूले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझाव दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहेनोम घेबरेयेससले समेत भर्चुअल पत्रकार सम्मेलनमा ‘लकडाउन’ वा नियन्त्रण हटाउनुको अर्थ कुनै पनि देशमा महामारीको अन्त्य नभई यो दोस्रो चरणको सुरुवात मात्र रहेको बताएका छन् । उनले भनेका छन्, ‘दोस्रो चरणमा मुलुकहरूले आफ्नो नागरिकसँग कुराकानी गरेर उनीहरूलाई शिक्षित र सशक्त बनाउनुपर्छ, जसले गर्दा यो समस्या (भाइरसको संक्रमण) पुन: तीव्र गतिले उदय हुँदा जवाफी कारबाही गर्न सकियोस् ।’

उनले विभिन्न मुलुकहरू आफ्नो देशको अवस्था हेरेर लकडाउन खुकुलो पार्नु वा हटाए पनि पहिलेजस्तै ओहोरदोहोर आवागमन र पूर्ण स्वतन्त्र भएर हिँडडुल गर्न ध्यान दिनुपर्ने बताए । लकडाउन हटेपछि पहिलोजस्तै संसारमा फर्किन नसक्ने डा. टेड्रोसले बताए । ‘हामीलाई एउटा लामो बाटो तय गर्नुछ, यो भाइरस लामो समयसम्म हाम्रोसाथ रहनेछ,’ डा. टेड्रोसले भने, ‘संसार पहिले जस्तो थियो त्यसमा फिर्ता जान सकिन्न, एउटा यस्तो विश्व जो स्वस्थ, सुरक्षित र राम्ररी तयार होस् ।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजधानीमा क्वारेन्टाइन सेन्टर, स्क्रिनिङ, अन द स्पोट टेस्ट’, निगरानीको व्यवस्थालगायतका प्रक्रिया अपनाएर लकडाउन खुकुलो बनाउन सकिन्छ । यही प्रक्रिया केही खास समयसम्म संक्रमण, नयाँ केस नदेखिएका अन्य सहर, गाउँ, ठाउँ, जिल्ला, प्रदेशमा खुकुलो नीति लिन सकिन्छ ।

‘हामीले नेपाल सुहाउँदो लकडाउन एक्जिट प्लान (लकडाउनबाट निस्किने योजना) अनुसार भविष्यमा अगाडि बढ्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘संक्रमणको सम्भावित विस्तारलाई रोक्ने प्रक्रिया अपनाउँदै नियन्त्रित जीवनशैली अपनाएर दैनिक कार्य व्यवहार गर्नुपर्छ ।’

हाल मुलुकलाई लकडाउनबाट खुकुलो गर्ने विषयमा सरकारका उच्च निकायबीच छलफल सुरु भएको छ । दुई दिनभित्र राजधानी खुकुलो पार्ने/नपार्ने विषयमा निर्णय हुनेछ । तर लकडाउन खोल्दासमेत पहिलेजस्तै आम नागरिकलगायत सबैको स्वच्छन्द व्यवहार हाल सम्भव नरहेको औंल्याउँदै महानिर्देशक श्रेष्ठ भन्छन्, ‘स्थान विशेषमा लकडाउन खुले पनि व्यक्तिगत व्यवहार सुरक्षित हुनुपर्छ, घर बाहिर निस्किँदा सबैले मास्क लगाउनुपर्‍यो, नियमित रूपमा साबुन पानीले हात धुनुपर्‍यो, सामाजिक दूरी कायम राख्नुपर्‍यो । हाम्रो यस्तो व्यवहार हुनुपर्‍यो, जसले एकबाट अर्कोमा संक्रमणको विस्तार नहोस् ।’ तर सरकारले प्रदेश १ लाई न्यूनतम दुई महिना लकडाउन गर्नुपर्ने, प्रदेश २ मा स्थिति हेर्न व्यापक रूपमा संक्रमणको खोजी गर्ने रणनीति लिएको स्रोतले जनाएको छ ।

मुलुकमा संक्रमणको अवस्था हेरेर योजनाबद्घ रूपमा ‘लकडाउन’ लाई विस्तारै खुकुलो पार्दै स्थान विशेषमा हटाइए पनि हालका लागि भारतसँगको सीमा सिल नै रहने स्थिति कायम गर्नुपर्ने सम्भावना डा.पाण्डे औंल्याउँछन् ।

मुलुकमा संक्रमणको अवस्थाले ‘लकडाउन’ खुकुलो वा खुला पार्ने अवस्था आए पनि पहिलेजस्तै ठूलो भोज, भेटघाट, धेरै व्यक्ति भेला हुने अवस्था, समूहमा काम गर्नेलगायत भीडभाड हुने स्थिति दिन नहुने उनको भनाए छ । भारतमा संक्रमणको स्थिति पूर्ण नियन्त्रणमा आएपछि मात्र सीमामा ओहोरदोहोर गर्ने विशेष उपयुक्त विधिबारे सोच्न सकिने डा.पाण्डे औंल्याउँछन् ।

‘प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ, हामीले भारतको अवस्था हेरेर अगाडि बढ्नुपर्छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘मुलुकको कुनै स्थान विशेषमा लकडाउन हटाउँदा देशकै अन्य ठाउँबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने अवस्थासमेत हुन सक्छ । भारतको केरला राज्यले बाहिरबाट आउनेलाई २८ दिनसम्म क्वारेन्टाइनमा राखेको छ ।’

मुलुकमा विस्तारै लकडाउन खुकुलो हुँदै एयरपोर्ट खुल्ने अवस्था आए पनि पहिलेजस्तो सबै मुलुकका नागरिक आउन नपाउने व्यवस्था सरकारले गर्न लागेको छ । कोभिड–१९ संक्रमण उच्च रहेका केही मुलुकका नागरिकलाई नेपाल आउन प्रतिबन्धसमेत लगाउने तयारी छ ।

यस्तै संक्रमण नियन्त्रणमा रहेका वा शून्य अवस्थामा रहेका मुलुकबाट आउन चाहने नेपाली वा जोसुकैले एउटा निश्चित समय क्वारेन्टाइनमा बसेर त्यसपछि प्रयोगशाला परीक्षणबाट संक्रमण नभएको पुष्टि भए मात्र स्वतन्त्र घुम्न पाउने व्यवस्था गरिने लागेको छ । ‘एयरपोर्टमा भएका हेल्थ डेस्कमा यात्रुको ज्वरो नापेर मात्र हुँदैन, तुरुन्त प्रयोगशाला परीक्षणको समेत व्यवस्था हुनुपर्छ,’ डा.पाण्डे भन्छन्, ‘मुलुकको एक ठाउँबाट अर्को ठाउँमा आन्तरिक उडान अन्तर्गतको यात्रुलाई समेत संक्रमण नभएको सुनिश्चितता आवश्यक छ ।’

‘संक्रमण जोखिम नरहेका केही खास मुलुकका नागरिक आउन पाए पनि उनीहरूलाई केही समय क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर परीक्षणबाट संक्रमण नरहेको पुष्टि भएपछि मात्र कार्य व्यवहार गर्न दिनुपर्छ,’ श्रेष्ठले भने, ‘हाल चीनमा विदेशबाट आउने जुनसुकै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । त्यहाँ हाल समुदायमा संक्रमण छैन ।’ मुलुकका विभिन्न भागको अवस्था हेरी लकडाउन खुकुलो गरिए वा हटाइए पनि तत्काल केही महिनासम्म स्कुल, कलेज, सिनेमाघर, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतका जमघट स्थानहरू खुला नगर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

डब्लूएचओका अनुसार कोभिड–१९ ले विश्वका धेरैजसो घनाबस्ती भएको क्षेत्रमा संक्रमित हुने खतरा अझै कायम छ र सामान्य जीवन ‘पटरीमा फर्किन’ अझै लामो समय लाग्छ ।

डा. टेड्रोसले स्पष्ट गरेका छन्, ‘धेरैजसो मुलुकमा यो महामारी आफ्नो प्रारम्भिक चरणमै छ । यसैले यो बिर्सने गल्ती गर्न सकिँदैन कि हामीलाई एउटा लामो बाटो तय गर्नुछ ।’ उनले विश्व यो भाइरसको चपेटामा लामो समयसम्म रहन सक्ने औंल्याउँदै विश्व पहिलेजस्तै अवस्था, माहोलमा फर्किन नसक्ने बताएका छन् । घरमा रहेर सामाजिक दूरी कायम राख्नेजस्ता उपाय गरेर थुप्रै देशमा संक्रमणको विस्तार कम गर्न सहयोग मिले पनि यो भाइरस अझै धेरै खतरनाक रहेको डा.टेड्रोस बताउँछन् ।

यो भाइरस पुन: अनियन्त्रित हुन सक्ने औंल्याउँदै डा.टेड्रोस भन्छन्, ‘हामी विभिन्न क्षेत्रमा र यहाँसम्म कि क्षेत्रको भित्र पनि फरकफरक ट्रेन्ड (प्रवृत्ति) हेरिरहेका छौं ।’ उनका अनुसार हाल हरेक मुलुकले ६ वटा कुरा गर्नैपर्छ । यसअन्तर्गत उनले हरेक केस फेला पार्ने, तिनलाई अलग (आइसोलेसन) गर्ने, परीक्षण गर्ने, हेरचाह गर्ने र हरेक सम्पर्कलाई पहिचान गरेर क्वारेन्टाइन गर्नुपर्ने बताएका छन् । ‘यसमा आफ्ना जनतालाई शिक्षित, संलग्न र सशक्त बनाउनुपर्छ,’ उनले भनेका छन् । यी ६ कुरा पालन नगर्ने मुलुकमा धेरैको ज्यान जाने चेतावनी डा.टेड्रोसले दिएका छन् । साभार – कान्तिपुर दैनिक ।

प्रकाशित मिति April 25, 2020
Loading...