सिन्धुलीका स्थानीयतहले ३ सय बस रिजर्भ गरि भित्र्याए आफ्ना नागरिक

स्थानीय ओसार्न प्रतिस्पर्धा

सिन्धुली, बैशाख १३ । ४ दिनअघि सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापामगरको मोबाइल नम्बर सामाजिक सञ्जालमा राखेर काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई बस रिजर्भ गरेको जानकारी गराइयो ।

गाउँपालिकाले स्थानीयलाई ल्याउन १० वटा बस रिजर्भ गरेको थियो । उपाध्यक्ष पदममाया तामाङलाई अध्यक्ष थापामगरको कुरा चित्त बुझेन । उनी आफ्नो सुविधाको गाडी लिएर राजधानी नै पुगिन् । उनले छुट्टै ४ वटा बस रिजर्भ गरेर स्थानीयलाई पठाइन् ।

सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल पनि यही बीचमा आफ्ना नागरिक ल्याउन भन्दै काठमाडौं पुगिन् । उनले सुनकोसीका मात्र नभएर जिल्लाभरिकैको उद्धार गरेको दाबी गरिन् । कमलामाईका नगरप्रमुख खड्गबहादुर खत्रीले उस्तै गरे । उनले पनि काठमाडौं पुगेर सामाजिक सञ्जालमा मोबाइल नम्बर राखेर सम्पर्क गर्न आह्वान गरे ।

मरिण र हरिहरपुरगढी गाउँपालिकाले लकडाउनको दोस्रो साता एक दर्जन बढी बस रिजर्भ गरेका थिए ।

दुधौली नगरपालिका, फिक्कल, गोलन्जोर र घ्याङलेख गाउँपालिका पनि स्थानीयलाई ल्याउने प्रतिस्पर्धामा सहभागी बने ।

राजधानी काठमाडौंंमा दु:ख पाएर गाउँ फर्कन नपाएकालाई ल्याउने नाममा यहाँका स्थानीय तहले रमिता नै देखाएका छन् ।

तीन सयभन्दा बढी बस रिजर्भ गरेर सिन्धुलीका स्थानीय तहले सर्वसाधारण ओसारेको दाबी गरेका छन् । पैदल यात्रुको उद्धार गर्दागर्दा थाकेपछि आह्वान नै गरेर बसबाट ल्याउनुपरेको सुनकोसीकी अध्यक्ष दीपा बोहरा दाहालको तर्क छ । उनले बीपी राजमार्ग भएर तराई तथा पूर्वी क्षेत्र पैदल भोकै हिंडेका ८ हजार बढी मजदुरको उद्धार गरेको दाबी गरिन् ।

राजधानीमा अलपत्र मजदुरको पालिकाबाहेक अन्य संस्थाले पनि उद्धार गरेर गाउँ फर्काएको जनाएका छन् । तर त्यसको कुनै तथ्यांक छैन । पालिकाहरूमा मजदुरलाई घर फर्काउने भन्दै चलेको होडले खतरा निम्त्याएको सरोकारवालाको चिन्ता छ ।

प्रकाशित मिति April 25, 2020