लकडाउनमा अलपत्र यात्रुको उद्धारमा सुनकोशी अब्बल, अप्ठेरोमा जुटे जनप्रतिनिधि र युवा व्यवसायी

सिन्धुली, बैशाख १३। सुनकोशी गाउँपालिकाबाट सुरु भएको पैदल यात्रीको उद्धार र व्यवस्थापनले देशव्यापी अभियान नै लियो ।

लकडाउनका बेला राजधानी छाडेर राजमार्गमा पैदल हिँड्ने हजारौँ यात्रुलाई खाजापानी र यातायात सेवा दिएर सुनकोशी गाउँपालिकाको संयोजन, मुल्कोटका जागरुक युवाको पहल र स्थानीय प्रशासन, व्यवसायी र समाजसेवीको सहयोगमा उद्धार गरिएको थियो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहरा दाहालका अनुसार, सुनकोशी गाउँपालिकाले अहिलेसम्म एक हजार पाँच सयभन्दा बढी सुनकोशीका मात्रै नागरिकको उद्धार गरिएको छ । बीपी राजमार्गहुँदै पूर्वीपहाड र तराईतिर जाने १२ हजारभन्दा बढी पैदल यात्रुलाई सुनकोशीको सीमा नाका, सदरमुकाम र बर्दिबाससम्म समेत पुर्याउने कार्य गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

सुनकोशी गाउँपालिकाले शुक्रबारसम्म पनि उद्धार अभियानलाई जारी राखेको थियो । बनेपा, जगाती र जडिबुटीसम्म गाडी ल्याएर अध्यक्ष दाहाल आफैँले उद्धार गर्नुभएको थियो । सो कार्यमा प्रदेश सभा सदस्य राजन दाहाल हात भाँचिएर अस्पतालमा बस्दासमेत स्थानीय प्रशासन, यातायात व्यवसायीसँग समन्वय गर्ने कार्यमा सक्रिय भएका थिए । सुनकोशी गाउँपालिकाका वडा अध्यक्षहरु रामचन्द्र आचार्य, सन्तोष दाहाललगायत जनप्रतिनिधिहरुको समेत उत्तिकै सक्रियता रहेको थियो ।

सुनकोशी युवा क्लव, नेपाल रेडक्रस सोसाइटी, स्थानीय प्रहरी प्रशासन, स्वास्थ्य चौकीलगायतको पहलसमेत प्रसंसनीय नै रहेको जनाइएको छ । ललितपुरमा अलपत्र परेका मजदुरको उद्धार गरी नेपालथोकमा व्यवस्थापन गर्ने क्रममा लडेर प्रदेश सभा सदस्य राजन दाहालको हात भाँचिएको थियो । धुलिखेल अस्पतालमा शल्यक्रियापछि सम्भवत शनिबारै डिस्चार्ज गर्ने सम्भावना रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 25, 2020
Loading...