नेकपा सचिवालय बैठकमा प्रचण्डको कुर्सी ओलीसँगै

काठमाडौँ, बैशाख २० । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।

प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो। तर केही समयदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भिन्न बस्दै आएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरू भएको जानकारी दिए। उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ भन्ने उल्लेख गरेका छन्।

अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फका साइडमा थिए । ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो ।

गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठकअघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । उनीहरुबीच के छलफल भयो भन्ने कुरा आइसकेको छैन ।

सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । वामदेवसँगै सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग ओलीले छलफल गरेका थिए ।

प्रकाशित मिति May 2, 2020
Loading...