सिन्धुलीमा रासायनिक मलको मनपरी मूल्य, प्रहरीले मार्यो छापा

दिपेश थापा

सिन्धुली, बैशाख २४ : सिन्धुलीका किसानले मल नपाएको गुनासो आइरहेका बेला बढी मूल्यमा मल बिक्री गरेको पाइएको छ ।

सिन्धुलीको जय बागबानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बेचेको भन्दै किसानहरुले उजुरी गरेपछि प्रहरीले गोदाममा छापा मारेको छ । कमलामाई नगरपालिका–६ रातमाटाका दुई गोदाममा छापा मारी प्रहरीले ८५० बोरा मल नियन्त्रणमा लिएको छ । दुई ट्रक पनि प्रहरीको नियन्त्रणमा छ ।

बजार मूल्य ८५० भएपनि एक हजार रुपैयाँ प्रतिबोरा बेचेको भन्दै उजुरी परेपछि प्रहरी छापा मारेको हो ।

सो मल बिक्रेता युवराज दाहालले भने आफूहरुले बढी मूल्यमा मल नबेचेको बताएका छन् । आफूहरुको व्यापारमा रिस गर्नेहरुले यस्तो गरेको भन्दै उनले अनुसन्धानमा सघाउने बताए ।

विगत चार वर्षदेखि दाहालले मल बिक्री गर्दै आएका थिए । युरिया, डीएपी, पोटास लगायतका अनुदानमा साझाले मल बिक्री गर्दै आएको छ भने गैरअनुदानमा सहकारीले मल बिक्री गर्दै आएको थियो ।

सिन्धुलीमा मल अभाव बनाउँदै अन्य जिल्लामा पठाउने गरेको गुनासो समेत स्थानीयको छ । स्थानीय कांग्रेस नेता दिपक मिश्रले सिन्धुलीमा मल अपुग हुँदाहुँदै अन्य जिल्लामा पठाउन नहुने बताए । सिन्धुलीमा मल हाहाकार बनाएर बढी मूल्यमा कसैले पनि बेच्न नहुने भन्दै सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।

प्रकाशित मिति May 6, 2020
Loading...