भारतबाट लुकेर पोखरा आए, क्वारेन्टाइनमा बस्नुपर्ने डरले ३ तलाबाट हामफाले

सुमन ढुंगाना

पोखरा, बैशाख ३० । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेको छ । हालसम्म कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधि बन्न सकेको छैन ।

जसका कारण कोरोना महामारीबाट बच्नका लागि एक मात्र उपाय सामाजिक दुरी हो ।

संक्रमित हुनबाट जोगिन घरबाट निस्किन प्रतिवन्ध लगाउँदै सरकारले गत चैत ११ गतेबाट लकडाउन लागू गरेको छ । साथै देश बाहिरबाट नेपाल आएकाहरुलाई सरकारले क्वारेन्टाइनमा अनिवार्य बस्न र परीक्षण गरेर कोरोना नभएको पुष्टि भएपछि मात्र घर जान भनेको छ ।

तर पोखरामा आज एउटा अनौठो घटना भयो । प्रहरीले समातेर क्वारेन्टाइन लैजाने डरले एक युवक आफु बस्दै आएको घरको तीन तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरे । तर उनी उम्कन भने सफल भएनन् । बरु आफैं घाइते भएर अस्पताल पुग्नु पर्‍यो ।

पोखरा महानगरपालिका ८ इन्द्रपुरी टोल बस्दै आएका अभिषेक बस्नेत आफ्नो परिवारसहित करिब ३ महिना अगाडि भारतको कर्नाटक गएका थिए । कोरोना संक्रमणले महामारीले उग्र रुप लिँदै गएपछि नेपालसहित भारतले पनि देशमा लकडाउन जारी गर्‍यो । दुवै देशमा लकडाउन जारी भएपछि भारतको कर्नाटकबाट उनी १२ दिन लगाएर लुक्दै छिप्दै पोखरा आइपुगेका थिए ।

लकडाउनमा प्रहरीको चेकजाँच कडा भएपनि बाटोमा भेटिएका भारतीय प्रहरीलाई पैसा दिँदै छुट्दै र ड्राइभरलाई समेत पैसा दिएर पोखरासम्म आउन सफल भए । अभिषेक भारतबाट आउने क्रममा बिहारको क्वारेन्टाइमा समेत बसेका थिए । तर उक्त क्वारेन्टाइबाट ३ सय नेपाली भागेका थिए । जसमा अभिषेक पनि एक हुन् ।

१२ दिनको यात्रा पूरा गरेर अभिषेक आज बिहान १० बजे पोखरा आइपुगेका थिए । नेपाल-भारत सीमाबाट उनी तरकारीको गाडीमा खलासी बनेर पोखरासम्म आइपुगेका थिए । उनी भारतबाट लुक्दै छिप्दै आएको खबर थाहा पाएपछि स्थानीयवासी त्रसित भए । लगत्तै स्थानीयले अभिषेक भारतबाट आएको वडा कार्यालय तथा प्रहरीमा खबर गरे ।

सो जानकारी पाउनसाथ प्रहरी अभिषेक बस्ने घरमा पुगे । तर घरको गेटबाट छिर्न नपाउँदै अभिषेक भने आफु बस्ने घरको तीन तला माथिबाट हाम फाल्न भ्याए । हाम फाल्दा उनको खुट्टामा सामान्य चोट मात्र लागेको छ । प्रहरीले समातेर क्वारेन्टाइनमा राख्दिने डरले उनले तीन तला माथिबाट हाम फालेको प्रहरीले बताएको छ ।

उनको गण्डकी अस्पतालमा उपचार गराएर पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानमा लगेर श्वाब संकलन गरिएको छ । स्वाब परीक्षणको रिपोर्ट बुधबार मात्र आउने प्रतिष्ठानले जानकारी दिएको छ । अहिले उनलाई क्वारेन्टाइनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो समय थपिएका संक्रमितहरु प्रायः सबै भारतबाट लुक्दै छिप्दै नेपाल प्रवेश गरेकाहरु छन् ।

खुला सीमा नाकाको फाइदा उठाउँदै उनीहरु नेपाल प्रवेश गरिरहेका छन् । तर, उचित चेक जाँच, परीक्षण र क्वारेन्टाइनमा राखिने व्यवस्था नहुँदा संक्रमित भएकाहरुले अन्यलाई कोरोना सार्ने सम्भावना प्रवल देखिन्छ । नागरिक स्वयं सचेत नहुँदा कोरोना महामारी नियन्त्रणका लागि समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति May 12, 2020