कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव पशुपतिमा

काठमाडौँ, जेठ ३ । कोरोना भाइरस (कोभिड १९) बाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याइएको छ ।

नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

प्रकाशित मिति May 16, 2020