नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ र संक्रमितको संख्या १४२० पुग्यो

दैलेख, जेठ १७ ।  दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो । मृतकको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै लगिएको थियो ।

दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना सङ्क्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाे याे पहिलाे घटना हाे । मृत्यु भएका व्यक्ति दुल्लु नगरपालिका वडा न ११ निवासी हुन् ।

कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ । दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए ।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो । त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४२० पुगेका पुष्ठि भएको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? तल कमेन्ट बक्समा प्रतिक्रिया लेख्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 30, 2020