सिन्धुलीमा पहिलोपटक १ पुरुषमा कोरोना संक्रमण पुष्ठि, संक्रमीत भारतबाट आएको खुलासा

सिन्धुली, जेठ २२ । सिन्धुलीका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । लकडाउनकै क्रममा उक्त ब्यक्ति भारतबाट आएको पनि खुलेको छ ।

प्रादेशिक अस्पताल हेटौडामा सिन्धुलीबाट स्वाव संकलन गरि पिसिआर विधिबाट परिक्षण गर्न पठाएकोमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सामाजिक विकास मन्त्रालयले सिन्धुलीबाट प्राप्त ६९ स्वाव नमुना मध्ये एक जनामा पोजेटिभ आएको पुष्टि गरेको छ । अरु ६८ जनाको नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

कमलामाई नगरपालिका १४ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जिन्तेन्द्र शाहले बताउनुभयो । संक्रमित व्यक्ति भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

संक्रमित पुरुषलाई सिन्धुली अस्पतालको आईसोलेसनमा भर्नाका लागि ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले बताउनुभयो । सिन्धुलीमा यो पहिलो पटक संक्रमण पुष्टि भएको हो । यसअघि सिन्धुली स्थाई ठेगाना भई काठमान्डौ बस्दै आएकी एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार प्रदेश प्रयोगशालामा १५१ स्वाव मध्ये ९ वटामा पोजेटिभ देखिएको छ। सिन्धुली, १, रौतहटमा १ र बारामा ७ जनामा थप कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति June 4, 2020
Loading...