यूएईबाट एकसय ५७ नेपाली यात्रु बोकेर काठमाण्डौ उड्यो एअर अरेबियाको विमान

यूएई, जेठ २३ । यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।

जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् । नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो ।

नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।

विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो । यसअघि शुक्रबार बिहान म्यानबारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइएको छ

स्रोत – उज्यालो अनलाइन

प्रकाशित मिति June 5, 2020