सर्लाहीमा एकैदिन १२० जनामा कोरोना संक्रमण पुष्ठि

वीरगञ्ज, जेठ २६ । सर्लाहीमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा सोमबार १७४ जना संक्रमित थपिँदा सर्लाहीमा मात्रै १२० जना संक्रमित थपिएको हो ।

सोमबार सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा आमासँगै तीन वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।

प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहीको बिष्णु गाउँपालिकास्थित तेजनारायण दयावती माध्यमिक विद्यालय तथा मधुवन स्वास्थ्य चौकीको क्वारेन्टिनमा एक देखि अठार वर्ष उमेर समूहका चार जना, उन्नाइस देखि चालीस वर्ष उमेर समूहका तिस जना र पैंतालीस  वर्षका थप एक जनागरी कुल ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिकास्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ बर्ष उमेर समूहका ५ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३२ जना, ४० देखि ६० वर्ष उमेर समूहका ५ जना पुरुष र १८ वर्षीय किशोर गरी कुल ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सर्लाहीकै चकरघट्टा गाउँपालिकाको पडरिया र ओरी निम्न माध्यमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ वर्ष उमेर समूहका ५ जना र १९ देखि ४० वर्ष उमेर समूहका १० जनागरी कुल १५ जनामा, सर्लाहीकै बलरा नगरपालिका स्थित बलरा माध्यमिक विद्यालयको क्वारेन्टिनका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ४ जनागरी कुल ८ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

सर्लाहीकै ईश्वरपुर नगरपालिकास्थित क्वारेन्टिनका १४ वर्षीया बालिका तथा १ देखि १८ वर्ष उमेर समूहका २ जना पुरुष, सोही क्वारेन्टिनका ५० वर्षीय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समूहका १४ जनागरी कुल १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै रामनगर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ३ स्थित शेहरा माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका ३७ वर्षीय महिला एक  जना, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्ष उमेर समूहका १२ जना पुरुष र अर्का ४५ वर्षका पुरुषगरी कुल १६ जनामा कोरोना सक्रमण दखिएको छ ।

महोत्तरीको औरही नगरपालिकास्थित औरही स्वास्थ्य चौकी क्वारेन्टिनमा बस्दै आएका १९ देखि ४० वर्ष उमेर समूहका ७ जना, ४० देखि ६० वर्ष उमेर समूहका २ जनागरी कुल ९ जना पुरुष, जलेश्वर नगरपालिकास्थित रामानन्द विशेश्वर महेन्द्र माध्यमिक विद्यालय क्वारेन्टिनमा अठार वर्षीय किशोर तथा १९ देखि ४० वर्ष उमेर समूहका दुई जना पुरुष गरी कुल तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ३ स्थित औरहिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका उमेर खुल्न नसकेका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । परोहा नगरपालिकास्थित जिँगडा मदरशामा सञ्चालित क्वारेन्टिनमा १८ वर्षीय किशोरसहित १९ देखि ४० वर्ष उमेर समूहका ५ जना पुरुषमा, गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३० वर्षीय पुरुष, रौतहटकै गढीमाई नगरपालिकास्थित समनपुर माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १ देखि १८ बर्ष उमेर समूहका ३ जना तथा ४३ वर्षीय १ जना गरी कुल ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बाराको सुवर्ण गाउँपालिका स्थित हर्दिया प्राथमिक स्वास्थ्य केन्द्र क्वारेन्टिनमा ३ वर्षीय बालिका र २८ वर्षीया महिला तथा १६ वर्षीय किशोर र १९ देखि ४० वर्ष उमेर समूहका २ जना पुरुष तथा पचरौता नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १८ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठीको क्वारेन्टिनमा रहेका २५ वर्षीया एक महिला तथा १९ वर्षदेखि ५५ वर्ष उमेर समूहका ६ जना पुरुष गरी कुल सात जनामा कोरोना देखिएको छ ।

प्रकाशित मिति June 8, 2020
Loading...