कोरोना जितेर सिन्धुली अस्पतालबाट ३ जना डिस्चार्ज

सिन्धुली, असार ८ । कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएका सिन्धुलीका तीन युवा कोरोना जितेर घर फर्किएका छन् । भारतबाट आएका तीन युवामा कोरोना पोजेटिभ देखिएपछि सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

उनीहरुलाई माला, खादा, टिका लगाएर अस्पतालले सोमबार विदाइ गरेको छ । कोरोना जितेर घर फर्किनेमा तीनपाटन ३ का चन्द्र गोले, कमलामाई ११ कुमार गोले र कमलामाई १४ मनोज गढौली हुनुहुन्छ ।

कमलामाई १० का एक जना पुरुष हाल आइसोलेसनमा हुनुहुन्छ । कोरोना जितेर घर फर्कनेलाई विदाई गर्दै अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, म आज धेरै खुशी छु । अध्यक्ष पोखरेलले कोरोना भाइरस बिरुद्धको संघर्षर्मा विभिन्न ढंगले सहयोग पुर्याउने सबैमा धन्यवाद समेत दिनुभएको छ ।

उहाँले चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक विमल श्रेष्ठ, गुजेश्वर श्रेष्ठलगायत ब्याडम्याण्टन संघ सिन्धुली, प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, खाना पकाएर सहयोग गर्ने विन्दा गौतम, कार्यालय सहयोगीलगायत सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति June 22, 2020