गोलाप्रथाद्वारा कृषकलाई बोका वितरण

दिपेश थापा

सिन्धुली, असार १०। सिन्धुलीकाे घ्याङलेक गाउँपालिकाले गोलाप्रथाद्वारा कृषकलाई उन्नत जातका बोका बाँडेको छ ।

गाउँपालिकाको पशु शाखाको आयोजनामा आर्थिक बर्ष ०७६ ०७७ का लागि वडाबाट सिफारिसमा आएका कृषकहरुलाई गाउँपालिका अध्यक्ष जगत भोलनले ‘ब्याड बोका’ वितरण गरेका हुन ।

गाउँपालिकाको प्रत्येक वडाका दुईजना किसानलाई एक एक वटा बोका दिइएको छ । उन्नत जातको बोका बाड्न गोलाप्रथाद्वारा किसान छनोट गरिएको हो ।

गाउँपालिकाले बोका लाने कृषकहरुलाई केही शर्तहरुमा सम्झौता गर्दै वितरण गरेको थियो ।

कृषकले प्रजननको लागि बोकाको पालन पोषण गर्नुपर्ने, बोका बिरामी हुँदा समयमा उपचार गराउनुपर्ने शर्त राखिएको छ ।

यस्तै बोका कारणवस प्रजनन् अयोग्य वा मर्न गएमा समयमा मुचुल्का तयार पारी घ्याङलेक गाउँपालिका पशु विकास शाखामा समयमा नै जानकारी गराउनु पर्ने पनि शर्तमा छ ।

यस्तै गाउँपालिका र कृषक बीचको शर्तमा बोका बिक्री वितरण तथा खसी पार्न नपाइने उल्लेख छ । यस्तै शर्तमा वर्षपछि १ पटक मात्र कार्यक्रमबाट प्राप्त बोकाहरु साटासाट गर्न पाइने उल्लेख छ । बोकाहरुको विमा अनिवार्य रुपमा गर्नु पर्ने, विमा बापतको शुल्क कृषक आफैँले व्यहोर्नु पर्ने पनि शर्तमा उल्लेख छ ।

सम्झौतामा उल्लेख नभएको कुरा प्रचलित कानून बमोजिम हुने बताइएको छ । घ्याङलेक गाउँपालिकामा पाँच वटा वडा छन ।

प्रकाशित मिति June 24, 2020