मेलम्चीको पानी उपत्यका ल्याउन थप ढिलाइ हुने

काठमाडौँ, असार ११ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो ।

कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनुु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो ।

बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, असारमा भौतिक काम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षमा सुरुङको परीक्षण र वितरण प्रणालीमा जानेछौँ ।

बैठकमा छिट्टै नै पानी परीक्षणको प्रक्रियामा जाने उहाँले बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, प्राविधिक जटिलतालाई सबैले बुझनुपर्छ, चुनौती आउने कुरा स्वभाविक हो । हामी चुनौतीलाई सामना गरेर काम सम्पन्न गर्छौं, जतिसक्दो छिटो मेलम्चीको पानी घरघरमा लैजाने नै हाम्रो प्रयत्न छ ।

बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थियो । कामको प्राविधिक अवस्थालाई मध्यनजर गर्दै फेरि समय सार्न नपर्ने गरी मिति तोक्नसमेत सांसदले निर्देशन गर्नुभएको छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, “आयोजनाको वास्तविक अवस्थाबारे र वास्तविक समय कति लाग्छ प्रस्ट भन्नुपर्छ ।

बैठ्कमा सांसद तथा समितिका सदस्य आशाकुमारी विश्वकर्मा, रङ्गमती साही, दामोदर भण्डारी, गणेश पहाडी, बिनाकुमारी श्रेष्ठ, सञ्जयकुमार गौतमलगायतले मेलम्चीको पानी आउँछ भन्ने विश्वास हराउँदै गएकाले सरकारले गम्भीरताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सोही मन्त्रालयका सचिव माधव बेल्बासेले भौतिक संरचना निर्माण सम्पन्न भइसकेपछि पनि सुरुङमा पानी परीक्षण गर्न कम्तीमा दुई महिना लाग्ने बताउनभुयो । सुरुङमा पानी परीक्षण प्राविधिक रूपमा जटिल काम भएको उहाँको भनाइ छ । परीक्षणसहित एक वर्षभित्र सबै काम सकिने सचिव बेल्बासेले बताउनुभयो ।

बैठकमा मेलम्ची खानेपानी विकास समितिका महानिर्देशक तिरेशप्रसाद खत्रीले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार मेलम्ची आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ । सुरुङ निर्माणको काम ९९ प्रतिशत, हेडवक्र्स ६५ प्रतिशत, डीआई पाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणाली शतप्रतिशत, सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत र पानी प्रशोधन केन्द्र शतप्रतिशत सकिएको छ ।

पानी पथान्तरण सुरुङ निर्माणको कार्यमा रडडवेल जडान तथा ग्राउटिङ सम्पन्न भएको छ । हाइड्रोमेकानिकल छवटा गेट जडान भइसकेको छ । सुरुङको अनुगमन उपकरण आपूर्ति तथा जडानको क्रममा रहेको महानिर्देशक खत्रीले जानकारी दिनुभयो । कोरोनाको बन्दाबन्दीमा कामदारको अभाव, निर्माण सामग्रीको आपूर्ति सहज नहुनु र वर्षात्का कारण काम प्रभावित भइरहेको आयोजनाले जनाएको छ ।

चार सय कामदारले निरन्तर काम गरिरहेको अवस्थामा बन्दाबन्दी भएपछि ६० जना चिनियाँसहित जम्मा १६४ जना कामदारले मात्र काम गरिरहेका छन् । मेलम्ची आयोजनामा हालसम्म २८ अर्ब ८६ करोड रुपियाँ खर्च भइसकेको महानिर्देशक खत्रीले जानकारी दिनुभयो । गोर्खापत्र दैनिकबाट

प्रकाशित मिति June 25, 2020
Loading...