काठमाडौं, असार १२। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरु स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो ।
– सोफा हटाइएपछीको तस्बिर
बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरु सदस्यका लागि फरक फरक सिट राखिएकामा विरोध जनाएका थिए । नेताहरु नारायणकाजी श्रेष्ठ र भीम रावलले पनि अध्यक्षद्वयका लागि अरु सदस्यको भन्दा फरक सिट राखेकामा विरोध जनाएका थिए ।
शुक्रबारको बैठकमा पनि नेता भीम रावलले कसैलाई सोफा र कसैलाई कुर्सीमा बस्ने व्यवस्था गर्दा कम्युनिस्ट पार्टीभित्रै असमानता भएको बताएका थिए । लगत्तै अध्यक्षका लागि राखिएको सोफा हटाएर कुर्सी राखिएको एक नेताले जानकारी दिए ।
त्यसपछि नेताहरुले बैठकमा बल्ल समानता कायम भयो भनेर ताली बजाएका थिए ।