नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं, असार १३।  नेपालमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार नाघेको छ । नेपालमा विगत २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १२ हजार ३ सय नौ पुगेको हो ।

यसअघि शुक्रवार ५ सय ९३ जना, बिहीवार ४ सय ३४ जना र बुधवार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये २ हजार ८ सय ३४ जना निको भएर घर फर्केका छन । पछिल्लो २४ घन्टामा मात्रै १ सय ३६ जनाले कोरोनालाई जितेका छन । अहिले कोरोनासंक्रमण पुष्टि भएका ९ हजार ४ सय ४७ जना देशका विभिन्न स्थानका आइसोलेसनमा रहेका छन ।

प्रदेश दुई, पाँच, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संक्रमितको सख्या धेरै छ । आजवाट मुलुकका सबै जिल्लामा कोरोना संक्रमणका विरामी भेटिएका छन । पछिल्लो परीक्षणमा रसुवामा पनि कोराना संक्रमित फेला परेका छन । टेकुमा गरिएको परीक्षणमा रसुवाका आठ महिला र एक पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजा ६ सय वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । योसँगै पीसीआर परीक्षणको संख्या २ लाख १० हजार ८ सय ७६ पुगेको छ । आरडीटी परीक्षण भने २ लाख ९४ हजार ३४ वटा गरिएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ५० आरडीटी परीक्षण भएका छन ।

क्वारेन्टिनमा बस्नेहरुको संख्या भने निरन्तर घटदो क्रममा छ । अहिले देशभरका क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना बसिरहेका छन । क्वारेन्टिनमा हुने अधिकांश भारतवाट फर्केका हुन ।

खाडी लगायतका मुलुकवाट उद्दार गरिएकालाई पनि क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमणवाट हालसम्म २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति June 27, 2020