भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो : ओली

काठमाडौं, असार १४। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ।’

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो ।

बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के-के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’

तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ’ उनले भने, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ।

आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बताएका छन् । अनलाइनखबरबाट

प्रकाशित मिति June 28, 2020